बुटवल, २४ भदौ । नेपाली काङ्ग्रेसको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण मंगलबारदेखि मुलुकभर एकसाथ शुरु भएको छ । जननायक बिपी कोइरालाको १०६ औँ जन्मजयन्तीको अवसर पारेर शुरु गरिएको जागरण अभियान आगामी असोज ७ गते समापन हुनेछ ।
जागरण अभियानको दोस्रो चरणमा ३३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित विभिन्न कार्यक्रम गरिने पार्टी कार्यालयले जनाएको छ । जसअनुसार मंगलवार बिपी कोइरालाको १०६ औँ जन्मजयन्तीको प्रतीकस्वरूप १०६ बिरूवा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रको निश्चित स्थलमा वृक्षरोपण गरेर अभियानको देशव्यापीरूपमा उद्घाटन गरिएको छ ।
अभियानको उद्घाटनमा सम्बोधन गर्न काङ्ग्रेसका केन्द्रीय पदाधिकारीसमेत विभिन्न जिल्लामा खटिएका छन् ।
अभियानमा पार्टी सुदृढीकरण, समसामयिक राजनीति, जनजीविकाका सवाल, सुशासनलगायत विभिन्न १५ उद्देश्य सहित काङ्ग्रेसले प्रत्येक प्रदेशसभा क्षेत्रमा एक÷एकका दरले ३३० केन्द्रीय प्रतिनिधि खटाएको छ ।
अभियानका क्रममा नागरिक पङ्क्तिमा स्थानीय तहमा वडास्तरीय सामाजिक संवाद कार्यक्रम, सामाजिक विसङ्गतिविरूद्ध जागरण, युवा केन्द्रित विशेष संवादको कार्यक्रम आयोजना गरिनेछन् ।
यसैगरी स्थानीय सरकारको दुई वर्षे समीक्षा पनि गरिनेछ । साथै काङ्ग्रेसको नेतृत्व रहेका तहमा जनभावनाअनुरूप अझ प्रभावकारी भूमिका कसरी निर्वाह गर्ने र निर्वाचित प्रतिनिधिबीच पर्याप्त समन्वय र एकता कसरी बढाउने सम्बन्धमा पनि अन्तक्र्रिया हुने बताइएको छ ।
जागरण अभियानका क्रममा पार्टीका सबै जिल्ला कार्यसमितिले अभिलेख सङ्कलनलाई गति दिने, सबै प्रदेश क्षेत्रमा युवा केन्द्रित विशेष संवादको सहजीकरण गर्ने, प्रदेशसभा क्षेत्रका जागरण कार्यक्रमको आवश्यक समन्वय गर्ने, असोज ७ गते अन्तिम दिन जिल्लास्तरीय जनप्रदर्शनको गरिनेछ ।
यस्तै रुपन्देहीमा पनि सबै निर्वाचन क्षेत्रमा बृक्षारोपण गरेर जागरण अभियानको शुरु गरिएको छ ।

