वर्किङ्ग तथा स्रिंकेज लसको क्षतिपुर्ति हुनेगरी कमिशन गर्न माग
गुल्मी, १६ भदौ । पहाडी जिल्लाका पेट्रोलियम ब्यवसायीहरुले तातो इन्धन ल्याएर चिसोमा बेच्नुपर्दा इन्धनको परिमाणमा धेरै क्षति ब्यहोर्नुपरेको गुनासो गरेका छन् । उनीहरुले पहाडी जिल्लामा बर्षा याममा पेट्रोल बढि बिक्री हुने र हिउद याममा डिजेलको बिक्री बढि हुने हुंदा सोही अनुसार इन्धन उपलब्ध गराउन निगमको ध्यानाकर्षण गराएका छन् ।
विगतमा भन्दा इन्धनको आपुर्ति ब्यवस्थापनमा धेरै सुधार आएको भन्दै उनीहरुले पेट्रोलको डिपो लोड बढाउन र भौचर बुझउन जांदा ५÷६ घण्टाको समय बर्बाद हुने गरेकाले अनलाईन प्रविधिको ब्यवस्थापनका लागि आग्रह गरेका छन् ।
नेपाल आयल निगम र पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनले जिल्लाका ब्यवसायीहरुका समस्या बुभm्न र ब्यवसायीहरुका सुझाव संकलनका लागि संचालन गरेको जिल्लागत ब्यवसायी भेला अन्तर्गत पहाडी जिल्लाका ब्यवसायीका लागि धार्मिक स्थल गुल्मीको रेसुङ्गा धाममा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागि ब्यवसायीहरुले दुरीका आधारमा इन्धन लोडलाई प्राथमिक्ता दिन र वर्किङ्ग तथा स्रिंकेज लसको क्षतिपुर्ति हुने गरी कमिशन रकम बृद्धि गर्नुपर्ने माग समेत गरेका छन् । ब्यवसायीहरुले निगमको भलवारी डिपोले पेट्रोलियम पदार्थको आपुर्ति ब्यवस्थापनलाई सहज र सरल वनाउन खेलेको भूमिकाको प्रशंसा गर्दै वितरण प्रणालीमा भएको सुधारलाई निरन्तरता दिदै लसको मात्रालाई घटाउने तर्फ ध्यान दिन आग्रह गरेका छन् ।
कार्यक्रममा पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले नेपालकै सबै भन्दा कम भण्डारण क्षमता रहेको भलवारी डिपोको भण्डारण क्षमता बढाउनु पर्नेमा जोड दिनुभयो ।
विगतमा निगमले गरेका गल्ती कमजोरीको जिम्मेवारी र कार्वाहीको भागिदार ब्यवसायी बन्नुपर्ने अवस्था थियो भन्दै अध्यक्ष न्यौपानेले अहिले त्यसमा केही सुधार आएको र वितरण प्रणालीमा समेत कुनै अवरोध नआएको बताउनु भयो । भलवारी डिपोमा नयाँ नेतृत्व आएसंगै विगतमा जस्तो दिनभरी निगममा बसेर साँझ रित्तै फिर्ताहुनुपर्ने अवस्थाको अन्त्य भएको र ब्यवसायीले भौचरका आधारमा माग अनुसार ईन्धन पाईरहेकाले ब्यवसायीले कुनै सास्ती ब्यहोर्नुनपरेको बताउनु भयो । पहाडी जिल्लामा पेट्रोलको आपुर्ति बढाउन माग गर्दै अध्यक्ष न्यौपानेले पहाड र तराईको समस्या फरक भएकाले सोही अनुसार सम्बोधन गर्न निगमको ध्यानाकर्षण गराउनु भयो ।
कार्यक्रममा एशोसिएसनका केन्द्रीय सदस्य चक्र आचार्य र राजु न्यौपानेले भारतमा हुने अवरोधले नेपालमा इन्धनको अभावहुने समस्यालाई मध्येनजर गरी डिपोको भण्डारण क्षमता बढाउन र सहज आपुर्तिको ब्यवस्था मिलाउने तर्फ निगमको ध्यान जानुपर्ने बताउनु भयो ।

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका बरिष्ठ उपाध्यक्ष हिमाल गैरेले ट्याँकरको लकिङ्ग सिष्टमलाई प्रभावकारी वनाउन र कमिशन रकम ज्यादै न्युन भएकाले बृद्धि हुनुपर्ने माग गर्नुभयो । भैरहेका पेट्रोल पम्पहरुलाई ब्यवस्थापन गर्न समस्या भैरहेका बेला नयाँ ब्यवसायीको आगमनलाई रोक्ने तर्फ निगम ब्यवस्थापन दिनुपर्ने बरिष्ठ उपाध्यक्ष गैरेले भन्नुभयो ।
कार्यक्रममा नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक शुसिल भट्टराईले ब्यवसायीहरु निगमका आधिकारिक विक्रेता भएकाले ब्यवसायीका समस्या समाधानका लागि निगम ब्यवस्थापन लागिरहेको बताउनु भयो ।
नेपाल आयल निगम ५ नम्वर प्रदेश प्रादेशिक कार्यालय भलवारीका प्रमुख ईन्जिनियर सूरज शाहले निगम नियमित वितरणका लागि प्रयत्नशिल छ भन्दै ब्यवसायीको मर्कामा निगमले मलम लगाउने काम गर्ने बताउनु भयो । जमिनको अभावले भण्डारण क्षमता बृद्धि गर्न समस्या भएको भन्दै छिटै मट्टितेलको ट्याँकीलाई पेट्रोलमा रुपान्तरण गर्ने र ३ लाख ५० हजार लिटर पेट्रोल भण्डारणका लागि ५ वटा अण्डरग्राउण्ड ट्याँकी राख्नेकाम छिटै हुने वताउनु भयो ।
निगमका प्रवन्धक शैलेन्द्र भुसालले जिल्लागत रुपमा भएका ब्यवसायी भेलाबाट आगामी दिनमा आपुर्ति ब्यवस्थापनलाई सहज, सरल र परिष्कृत वनाउन उर्जा मिलेको भन्दै गोण्डाबाट पेट्रोलियम पदार्थ आयात पछि वितरण प्रणालीमा थप सहज र सुधार हुने बताउनु भयो । कार्यक्रमको दौरानमा १८० वटा डिलरसंग साक्षात्कार भएको भन्दै आआफ्नो उत्तरदायित्व अनुसारको भूमिका सबैले निर्वाह गर्नुपर्ने प्रवन्धक भुसालले वताउनु भयो ।

निगमका सहायक प्रवन्धक बालकृष्ण राय र जवाहर यादवले पेट्रोल पम्पमा हुनुपर्ने सुरक्षा पुर्वाधार, पेट्रोल पम्पको अपरेशन कार्य, अग्नी सुरक्षा लगायतका बिषयमा बृतचित्र सहित सहजिकरण गर्नुभएको थियो ।
पहाडी जिल्ला प्रतिनिधि टोपलाल खनालको अध्यक्षता एशोसिएसनका महासचिव हरिराम कशौधनको संचालनमा भएको अन्तरक्रिया कार्यक्रममा एशोसिएसनका उपाध्यक्ष योगेन्द्र गुप्ता, सचिव गोपाल बस्याल, कोषाध्यक्ष बिशाल गैरे, स्याङ्गजा पाल्पा प्रतिनिधि नारायण श्रेष्ठ, लेखा संयोजक प्रेम वाग्ले, सदस्यहरु लोकप्रसाद भुसाल, दिनेश न्यौपाने, सुनिल क्षेत्री, डांसिराम अधिकारी, ब्यवसायीहरु ईश्वरी पौडेल, बिरेन्द्र भुसाललगायतले बोल्दै निगममा भएको सुधारले आम ब्यवसायीले राहतको महशुस गरेको धारणा राख्नुभयो । सो अवसरमा निगमको ब्यवस्थापन सुधारमा महत्वपुर्ण भूमिका निर्वाह गरेको भन्दै पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनले निगमका नायव कार्यकारी निर्देशक शुसिल भट्टराईलाई दोसल्ला ओढाएर र सम्मान पत्रले सम्मान गरेको छ । यस्तै पहाडी जिल्लाका ब्यवसायीहरुले संस्थागत सुधार र ब्यवसायीको हकहितका लागि महत्वपुर्ण भूमिका निर्वाह गरेको भन्दै पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेलाई सम्मान गरेका थिए । भेलामा भलवारी डिपोबाट पेट्रोलियम पदार्थ आपुर्ति हुने पहाडी जिल्ला गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्गजा र बाग्लुङका ब्यवसायीहरुको सहभागिता रहेको थियो । यस अघि रुपन्देही, कपिलवस्तु र नवलपरासीमा अन्तरक्रियात्मक भेला सम्पन्न भैसको एशोसिएसनले जनाएको छ ।
