वन संरक्षण गर्नु आम नागरिकको साझा दायित्व
तिलोत्तमा । शँकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा १–४ रुपन्देहीको २५औँ वार्षिक साधारणसभा समूहको कार्यालय प्राङ्गणमा सम्पन्न भएको छ । साधारणसभाको उद्घघाटन लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री एवं समूहका वरिष्ठ सल्लाहाकार लिला गिरीले गर्नु भयो । सभाको उद्घघाटन गर्दै पूर्व मुख्यमन्त्री गिरीले सामुदायिक वनले वातावरण संरक्षणसँगै स्थानीयको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । उहांंले सामुदायिक वन व्यवस्थापनलाई थप पारदर्शी, उत्तरदायी र दिगो बनाउन उपभोक्ता समूहको सक्रियता आवश्यक रहेको उल्लेख गर्दै वन संरक्षणलाई आम नागरिकको साझा दायित्वका रूपमा लिन आग्रह गर्नु भयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले शंकरनगर सामुदायिक वन नगरको पर्यावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण सम्पत्ति भएको बताउनु भयो । नगरपालिकाले सामुदायिक वनसँग सहकार्य गर्दै हरियाली प्रवद्र्धन, जलाधार संरक्षण र वातावरणमैत्री विकासलाई प्राथमिकता दिने उहांले प्रतिबद्धता जनाउनु भयो ।
त्यस्तै, नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले सामुदायिक वनले महिला सशक्तिकरण र गरिवी न्यूनीकरणमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
समूहका अध्यक्ष रविन्द्र बस्नेतले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्षभरि वन संरक्षण, वन विकास तथा सम्वद्र्धन, गरिवी न्यूनीकरण, महिला सशक्तिकरण तथा उद्यम विकास, जैविक विविधता संरक्षण र जलाधार संरक्षणका कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख प्रविण बिडारीले शँकरनगर सामुदायीक वन नेपालकै नमूना वन भएको र यस सामुदायिक वनले नेपाल सरकारले प्रदान गर्ने सवैभन्दा ठूलो पुरस्कार गणेशमान सिंह स्मृति पुरस्कारवाट पुरस्कृत भएको वताउनुभयो । शँकरनगर सामुदायिक वन देशका धेरै सामुदायिक वन मध्ये नमुना वन भएकाले यसले सम्पादन गरेका कामलाई अन्य वन समूहले सिको गर्न सुझाव दिनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, नेकपा एमाले तिलोत्तमा नगर अध्यक्ष मिनप्रसाद पोखरेल, नेपाली कम्युनिष्ट पार्टीका नगर संयोजक बेलप्रसाद शर्मा, संस्थाका कानुनी सल्लाहकार खुमाकान्त पौडेल, उपाध्यक्ष कमला ज्ञवाली, सचिव कालिका अधिकारी, मध्यवर्ती महिला समूहकी अध्यक्ष धनिकला पाण्डे, वनका पार्षद रुक्माङ्गत पाण्डे, चन्द्रकला कंडेल लगायतले शुभकामना मन्तव्य राख्दै सामुदायिक वनको संरक्षण र दिगो व्यवस्थापनमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नु भएको थियोे ।
सो अवसरमा वनका पदाधिकारीहरुले वार्षिक रुपमा सेवा क्षेत्र भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार ८ जना विद्यार्थीलाई प्रदान गर्ने छात्रबृत्ति प्रति विद्यार्थी नगद ५ हजार र संस्थाले एसईईमा उत्कृष्ट अंक ल्याउने ९ जना विद्यार्थीलाई जनही ५ हजार र प्रमाणपत्रले सम्मान गरिएको थियो । सोही समारोहमा संस्थाका दुई जना उत्कृष्ट कर्मचारीलाई पनि नगद सहित सम्मान गरिएको थियो । यस्तै वन मुद्धा फैसला गराउन महत्वपुर्ण भूमिका खेलेको भन्दै पूर्व प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीलाई पनि सम्मान गरिएको थियो ।
