दाङ । लुम्बिनी प्रदेश सभाको हिउँदे (सातौँ) अधिवेशन मंसिर ८ गते बस्ने भएको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन मंसिर ८ गते सोमबारका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो ।
‘आजको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ,’ प्रवक्ता पन्थीले भन्नुभयो–‘संवैधानिक व्यवस्थाअनुसार सरकारले प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।’
हिउँदे अधिवेशनमा स्थानीय तहका कर्मचारीहरूको सेवा–सुविधासम्बन्धी संशोधन गर्न बनेको विधेयक र लुम्बिनी अध्ययन अनुसन्धान प्रशिक्षण प्रतिष्ठान विधेयकमाथि छलफल हुनेछ । ती विधेयक यसअघि प्रदेशसभा सचिवालयमा दर्ता भइसकेका छन् ।
त्यसैगरी, दलित अधिकार सम्बन्धी विधेयक र बडघर सम्बन्धी विधेयक दर्ता गर्ने तयारी भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । त्यसैगरी विभिन्न समितिका प्रतिवेदनहरू र महालेखा परीक्षकको प्रतिवेदन पनि दर्ता भई हिउँदे अधिवेशनमा छलफलका लागि प्रस्तुत हुनेछन् । लुम्बिनी प्रदेश सभाको वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो ।