काठमाडौँ । नेपाल प्रहरीको ३३ औँ महानिरीक्षक (आईजीपी) मा दान बहादुर कार्की नियुक्त हुनुभएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको हो ।
३० वर्षे सेवा अवधि पुरा गरी वर्तमान आईजीपी चन्द्र कुवेर खापुङ कार्तिक २६ मा अवकाशमा जाने भएपछि कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरिएको हो । खापुङले भदौ १९ बाट प्रहरीको कमाण्ड सम्हाल्नुभएको थियो ।
आईजीपी हुने प्रतिस्पर्धामा कार्कीसँगै उहांका व्याचमेट एआईजीद्वय राजन अधिकारी र डा. मनोज कुमार केसी थिए । एआईजी शिद्धी बिक्रम शाह पनि आईजीपीको दाबेदार थिए ।
२०८२ वैशाखमा चन्द्र कुवेर खापुङसँगै एआईजीमा बढुवा हुनुभएका कार्की वरीयता सूचीमा पहिलो नम्बरमा हुनुहुन्थ्यो । २०५४ चैत १८ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गर्नुभएका कार्कीले प्रहरी ऐन र नियमावलीमा फेरबदल नभएमा २०८४ चैत १७ सम्म प्रहरी संगठनको नेतृत्व गर्नुहुनेछ ।
कार्की जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख हुंदा २०८० मा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भएको थियो ।
एआईजीको मेरिट लिस्टमा ३ नम्बरमा रहेका डा. केसीले सुरु गरेको शरणार्थी प्रकरणको अनुसन्धानलाई कार्कीले साथ दिनुभएको थियो । मुद्दाको अनुसन्धान प्रतिवेदन तयार गर्ने र अभियोजनमा सरकारी वकिल कार्यालयसँग कार्कीको टोलीले समन्वय गरेको थियो ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग कनेक्सन देखिएको भन्दै २०८० वैशाख २७ मा पूर्व गृहमन्त्री बालकृष्ण खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेका थिए ।
चर्चित शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पुत्र प्रतीक थापा र गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे र बिचौलिया बेचन झा हाल पुर्पक्षको लागि थुनामा छन् ।
शरणार्थी प्रकरणमा संलग्न केशव प्रसाद दुलाल र सानु भण्डारी पनि अहिले कारागारमा छन् ।