तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन ( लिसा) को आर्थिक वर्ष २०८०÷०८१ को नतिजामा कार्यसम्पादनमा देशकै दोस्रो तथा लुम्बिनी प्रदेशको पहिलो स्थानीयतहका रुपमा छनौट भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमवार प्रकाशित गरेको सूचनामा तिलोत्तमा नगरपालिकाले कार्यसम्पादन नतिजामा देशकै दोस्रो तथा लुम्बिनी प्रदेशको पहिलो स्थानियतहका रुपमा छनौट भएको जनाइएको छ ।
तिलोत्तमाले अघिल्लो आर्थिक वर्ष कै दोस्रो स्थानलाई यथावत कायम राखेको नगरपालिकाले जनाएको छ ।
गाउँपालिका तथा नगरपालिकाको कार्यप्रकृया र उपलब्धीको लेखा जोखा गरी शासकीय प्रकृया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समिक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकार बीच स्वस्थ प्रतिष्पर्धाको भावना जागृत गराउने उद्देश्यले कार्यान्वयनमा रहेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याँकंनको आर्थिक वर्ष २०८०÷ ०८१ को नतिजाको गुणस्तर परीक्षणको कार्य आर्थिक वर्ष ०८१÷०८२ मा सम्पन्न भएको हो ।
तिलोत्तमा संगै गुल्मीको रुरुक्षेत्र गाउँपालिका छैटौ स्थानमा छनोट भएको छ । त्यस्तै चितवनको खैरहनी नगरपालिका प्रथम भएको छ । अघिल्लो आर्थिक वर्षमा प्रथम भएको धादिङको नीलकण्ठ नगरपालिका यस पटक तेस्रो भएको छ । त्यस्तै स्याङजाको अर्जुन चौपारी गाउंँपालिका चौथो र धादिङकै बेनीघाट गाउँपालिका पांचौ स्थानमा छनोट भएको छ ।
छनौट भएका पालिकाहरुलाई यही भाद्र ६ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सभाहलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सम्मान गर्ने कार्यक्रम मन्त्रालयले तय गरेको छ । छनोटमा परेका पालिकाहरुवाट नगर प्रमुख वा पालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतलाई सम्मान लिनका लागि निमन्त्रणा गरिएको छ ।
यो सफलता प्राप्तिका लागि योगदान पुर्याउने सबै जनप्रतिनिधिहरु, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, सम्पूर्ण कर्मचारीहरु, आम तिलोत्तमा नगरवासी आमा बुबा दाजु– भाइ तथा दिदीबहिनीहरू, विभिन्न संघसंस्था एवं संचारकर्मीहरु प्रति नगर प्रमुख रामकृष्ण खांणले आभार व्यक्त गर्नुभएको छ ।