बुटवल । आगामी कात्तिक १७ गते रुपन्देहीको क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका दुई छुट्टाछुट्टै समूहले उम्मेदवारी दिने भएका छन् ।
उपनिर्वाचनका लागि दल दर्ता नभएपछि रेशम चौधरी पक्षको नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्र उम्मेदवार उठाउने तयारी गरेको हो ।
निर्वाचन आयोगले रेशम चौधरी पक्षलाई आधिकारिकता नदिएपछि रुपन्देही–३ को उपनिर्वाचनमा सो समूहले स्वतन्त्र रूपमा छुट्टै उम्मेदवार उठाउने भएको हो । श्रीमती रन्जिता श्रेष्ठसँग विवाद भएपछि नागरिक उन्मुक्ति पार्टी आयोगमा दर्ता समेत नभएको प्रसंगमा सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गर्दै नाउपाका संरक्षक समेत रहेका चौधरीले उक्त कुरा बताउनुभएको हो ।
‘निर्वाचन प्रायोजनको लागि दल दर्ता नहुनु मेरो कमजोरी होइन । म अध्यक्ष हो र ? केन्द्रिय समितिको बैठक बसाएर निर्णय बुझाए भैहाल्थ्यो त । न केन्द्रिय समितिको बैठक बसाउने,न लेखापरीक्षण गराउने,न पार्टीलाई चलाएमान बनाउने ? अनि दोष जति मेरो थाप्लोमा थुपारेर आफू चोखो बन्ने ? संरक्षक चौधरीले भन्नुभएको छ–‘अहिलेपनि तुरुन्त केन्द्रिय समितिको बैठक बोलाए भैहाल्यो नि । बाँकि मनोनीत साथीहरूलाई अध्यावधिक गराइदिनु टण्टै साफ । दुश्मनको सल्लाहमा लागेर युद्ध कहिल्यै जितिन्न । हामी सहयोगी मात्रै होइन, सहयोद्धा पनि हौं । रह्यो कुरा रुपन्देहीको उपनिर्वाचनमा हाम्रो उम्मेदवार उठ्छ । म राजनैतिक ब्यक्ति हो । यहि साता देखि प्रचारप्रसारमा खटिन रुपन्देही आउँछु । समस्या चर्काउन तिर होइन,समाधान तिर लागौं । पार्टी बिभाजनका सहयोगीलाई दलबाट मात्रै होइन, समूहबाटै बहिष्कार गरौं ।’
रुपन्देहीको क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २६ राजनीतिक दल दर्ता भएका छन् ।
२७ राजनीतिक दलले निवेदन दिएकोमा २६ राजनीतिक दलको नाम उपनिर्वाचनका लागि योग्य भएको निर्वाचन आयोगले जनाएको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले आवश्यक कागजात पेस नगरेका कारण उपनिर्वाचनका लागि अयोग्य ठहर भएको छ ।