बुटवल । “स्वस्थ मुख महाअभियान : स्वस्थ शरिरको लागि स्वस्थ मुख” भन्ने नारासहित बुटवलमा भोली बुधबारदेखि “स्वस्थ मुख महाअभियान” शुरू हुने भएको छ ।
बुटवल स्थित आधुनिक समाज डेन्टल केयर प्रा. लि.को प्राविधिक सहयोगमा लायन्स क्लब अफ रूपन्देही, रोटरी क्लब अफ लुम्बिनी स्टार्स र दारी ग्याङको आयोजनामा “स्वस्थ मुख महाअभियान” सञ्चालन हुन लागेको हो ।
आयोजक संस्थाहरूले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि कार्यक्रमको उद्देश्य र तयारी बारे जानकारी गराएका हुन् ।
कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालका डिस्ट्रिक्ट गभर्नर बालाराम भट्टराईले मुख स्वास्थ्य सम्बन्धि सचेतना जगाउने उद्देश्यले यो अभियान सञ्चालन गर्न लागिएको भन्दै समाज रूपान्तरणमा एक कदम माथि उठेर सहयोग गर्न आह्वान गर्नुभयो ।
आधुनिक समाज डेन्टल केयर प्रा. लि. का अध्यक्ष अमृत भुसालले रोग प्रवेश गर्ने मुख्य द्वार मुख स्वास्थ्य प्रति राज्य र आम जनता सजग नरहेको भन्दै मुख स्वास्थ्य सम्बन्धि सचेतना जगाउन अभियान सञ्चालन गर्न लागिएको जानकारी गराउनुभयो ।
नेपालका ७० प्रतिशत मानिसमा मुख सम्बन्धि कुनै न कुनै किसिमको समस्या रहेको भन्दै उहांले विद्यालय स्तरमा मुख स्वास्थ्य सम्बन्धि पाठ्यक्रम समावेश गर्न जरुरी रहेको बताउनुभयो । समाजमा मुख स्वास्थ्य महंगो छ भन्ने गलत भास्य निर्माण भएको भन्दै अध्यक्ष भुसालले मुख स्वास्थ्य महंगो नभएर जनचेतनाको कमि भएको दाबी गर्नुभयो ।
कार्यक्रममा रोटरी क्लब अफ लुम्बिनी स्टार्सका चार्टर्ड प्रेसिडेन्ट यादव भण्डारी, रोटरी क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष विमल ढकाल, लायन्स क्लब अफ रूपन्देहीका अध्यक्ष घनश्याम घिमिरे, मुख स्वास्थ्य सम्बन्धि कन्सलट्यान्ट डाक्टर सुनिल खरेललगायतले अभियानको आवश्यकता र उदेश्य बारे प्रकाश पार्नुभएको थियो ।
भोली बुधबारदेखि सुरु हुने अहाअभियान असोज ५ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
निशुल्क मुख स्वास्थ्य परीक्षण शिविर सञ्चालनका लागि करिब दस लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएका छन् ।