बुटवल । बुटवल उपमहानगरपालिकाले सोमबार सार्वजनिक सुनुवाई गरेको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि नगरवासीले सडक मर्मत, ट्राफिक व्यवस्थापन, सरसफाई, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगार जस्ता सेवाहरूमा सुधार गर्नुपर्ने सुझाव दिएका छन् ।
कार्यक्रममा नगरवासीले उठाएका सवालहरुलाई सम्बोधन गर्दै नगर प्रमुख खेलराज पाण्डेले सेवा प्रवाहमा सुधारका लागि उठेका सबै विषयलाई नगर कार्यपालिकामा छलफल गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नगरप्रमुख पाण्डेले मोतिपुरमा औद्योगिक क्षेत्र र सेमलारमा कृषिजन्य सम्भावनाहरूलाई प्राथमिकतामा राख्ने योजना प्रस्तुत गर्नुभयो । उहांले सबै जात, भाषा, धर्म, लिङ्ग र समुदायको हितलाई केन्द्रमा राखेर कार्य गर्दै आएको र सुनुवाई कार्यक्रममा अनुपस्थित सरोकारवालालाई मिडियामार्फत जानकारी गराउने तयारी रहेको उल्लेख गर्नुभयो ।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्यालले सार्वजनिक सुनुवाइले पालिकाभित्रका कमजोरी पहिचान गर्न सहयोग पु¥याउने बताउनुभयो । उहांले समस्याको पहिचानले समाधान सजिलो बनाउने भन्दै जनप्रतिनिधि र सेवाग्राहीबीचको सम्बन्ध अझ सुदृढ भई सुशासन र विकासमा सकारात्मक टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सार्वजनिक सुनुवाइमा इलाका प्रहरी कार्यलय बुटवलका प्रमुख डीएसपी इन्द्र बहादुर रानाले लागु औषधको सेवन देशव्यापी समस्या भएको र अनलाइन ठगीका घटनाहरू बढ्दो क्रममा रहेकोले सचेतनामूलक कार्यक्रम मार्फत यस्तो प्रवृत्ति रोक्न सक्रिय रूपमा पहल गरिरहेको बताउनुभयो ।
बुटवलमा आत्महत्याका घटनाहरूमा उल्लेख्य वृद्धि देखिएको र आत्महत्यासम्बन्धी मुद्दा दर्ता दर उच्च भएकोले उपमहानगरपालिकालाई आत्महत्या न्यूनीकरणका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने सुझाव दिदै उहांले बुटवललाई सर्वसाधारणका लागि सुरक्षित, जागरुक र समर्थनपूर्ण वातावरण बनाउन प्रहरी–नगरपालिका दुवै पक्षबाट साझा जिम्मेवारी वहन गर्ने बताउनुभयो ।
सार्वजनिक सुनुवाइमा विभिन्न सरोकारवालाहरूले नगरको विकास र सेवा प्रवाहमा सुधारका लागि महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका छन् । नेपाली कांग्रेसका नगर उपसभापति ज्योति भण्डारीले नगरका गतिविधिहरू बुझ्न र रणनीति बनाउन सार्वजनिक सुनुवाइलाई प्रभावकारी मान्दै, “हामी ठूला सपना देख्छौं, साना आइपर्ने समस्यामा परेर दुखी हुन्छौं,“ भन्नुभयो ।
नेकपा एमाले बुटवल नगर अध्यक्ष सोभाखर पोखरेलले सेवा प्रवाहमा देखिएका समस्यामा गम्भीर सुधार गर्नुपर्ने औल्याउंनुभयो । उहांले युवाहरू बाहिर जाने वातावरण निर्माण नगरी जिम्मेवार नेतृत्व र सार्वजनिक प्रवाहमा पारदर्शिता अपरिहार्य रहेको बताउनुभयो ।
राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष भेक बहादुर थापाले उजिरसिंह थापाको प्रतिमालाई सम्मानका साथ राख्नुपर्ने र सडक मर्मतमा ध्यान दिन आग्रह गर्नुभयो ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले सार्वजनिक लगानी बढाउन र ट्राफिक व्यवस्थापनमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहांले माली नियुक्तिका चुनौतीहरू र सर्भिस लेनमा पार्किङको समस्या समाधान गर्न नगर र प्रहरीको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल, वडाअध्यक्षहरू, कार्यपालिका सदस्य, विभिन्न विषयगत समितिका संयोजक, नागरिक समाजका प्रतिनिधिहरू र पत्रकारहरूको सहभागिता रहेको थियो ।