भैरहवा । जिल्लास्तरीय ‘एशियन बुद्ध टी–१० क्रिकेट प्रतियोगिता’ अन्र्तगत मंगलबार भएका तीन खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लब, एशियन बुद्ध र न्यु होराइजन विजयी भएका छन् । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा लुम्बिनी खुकुरीले एक्सपर्ट क्लबलाई ८ विकेटले पराजित गरी जित हात पारेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको एक्सपर्टले ७.५ ओभरमा सबै विकेट गुमाएर जम्मा ४७ रन बनायो । जवाफी ब्याटिङ गरेको लुम्बिनी खुकुरीले ४.५ ओभरमा २ विकेट गुमाएर ५२ रन बनाउँदै सहज जित हात पार्यो । खेलमा ४ विकेट लिएका खुकुरीका शाहब आलम प्लेयर अफ द म्याच बने ।
यस्तै, दोस्रो खेलमा एशियन बुद्धले बुद्ध क्रिकेट क्लबलाई ४९ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको एशियन बुद्धले ६ विकेट गुमाएर १ सय २१ रनको बलियो योगफल बनायो । जवाफी ब्याटिङ गरेको बुद्ध क्रिकेट क्लबले पुरै ओभर खेली ६ विकेट गुमाएर ७२ रन मात्रै बनायो र हार व्यहोर्यो । खेलमा ६८ रन र १ विकेट लिएका एशियन बुद्धका कृष्ण कार्की प्लेयर अफद म्याच घोषित भए ।

यस्तै, तेस्रो खेलमा न्यु होराइजनले टीम एभेन्जर्सलाई ७४ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको होराइजनले ५ विकेटको क्षतिमा १ सय ५ रन बनायो । जवाफी ब्याटिङ गरेको एभेन्जर्स ९.४ ओभरमा अलआउट हुँदै जम्मा ३१ रन मात्रै बनायो र हार व्यहोर्यो । खेलमा ४४ रन बनाउनुका साथै २ विकेट लिएका होराइजनका आरिफ खान प्लेयर अफ द म्याच भए ।
प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब, भैरहवाको आयोजनामा संचालित प्रतियोगिताको विजयी टिमले ८० नगद र उपविजेताले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, सेमिफाइनल पुग्ने दुईवटा टिमलाई नगद १०–१० हजार प्रदान गरिने छ । आयोजकका अनुसार प्रतियोगितामा म्यान अफ द सिरिजलाई नगद १२ हजार, बेस्ट ब्याटर र बलरलाई नगद ८–८ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार दुई सय रुपैयाँ प्रदान गरिने छ । यस्तै, उत्कृष्ट क्याच र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत समान २ हजार ५ सय तथा दर्शकदिर्घाबाट छक्का क्याच गर्ने दर्शकलाई पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको मुख्य प्रायोजकमा भैरहवाको एशियन बुद्ध होटल रहेको छ । मौसमका कारण बीचमा एक दिन खेल नहुँदा प्रतियोगिता असार १२ गतेसम्म चल्ने भएको छ ।