बुटवल । बुटवल उपमहानगरपालिकामा राष्ट्रिय परिचय पत्र बनाउनका लागि सेवा केन्द्र सञ्चालनमा आएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देही र इलाका प्रशासन कार्यालय बुटवलमा अत्याधिक चाप भएपछि बुटवलका बासिन्दालाई राष्ट्रिय परिचय पत्र बनाउनका लागि सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो ।
सेवा केन्द्रको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गर्नुभयो । बुटवल उपमहानगरपालिकाको पूरानो भवन परिसरमा राष्ट्रिय परिचय पत्र बनाउनका लागि सेवा केन्द्र स्थापना भएपछि बुटवलबासीलाई सहज हुने प्रमुख पाण्डेले बताउनुभयो । बुटवलमा रहेको इलाका प्रशासन कार्यालयमा अत्याधिक भीड र लामो समयसम्म पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न बुटवल उपमहानगरपालिकाले सेवा केन्द्र सञ्चालनका लागि अगुवाई गरेको उहांको भनाईछ ।
जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयको भीड र सेवाग्राहीले सास्ती खेप्नुपरेको अवस्था थियो, प्रमुख पाण्डेले भन्नुभयो –त्यसलाई मध्यनजर गरेर हामीले यो पहल गरेका हौ ं।
कार्यक्रममा बोल्दै इलाका प्रशासन कार्यालयका प्रमुख रामचन्द्र अर्यालले बुटवल उपमहानगरका बासिन्दालाई लाभ हुने गरी सेवा केन्द्र सञ्चालन गरिएको बताउनुभयो । उहांले सेवा केन्द्र सञ्चालनमा बुटवल उपमहानगरपालिकाको विशेष चासो र अगुवाईका कारण सम्भव भएको उल्लेख गर्नुभयो ।
नागरिकको तथ्याङ्क व्यवस्थित र सुलभ सरकारी सेवा प्रदान गर्ने उद्देश्य सहित सरकारले राष्ट्रिय परिचयपत्रको सुरुवात गरेको हो । राष्ट्रिय परिचयपत्र भनेको नागरिकहरूको वैयक्तिक तथा जैविक विवरण समावेश भएको विद्युतीय चिप र सुरक्षण सहितको स्मार्ट कार्ड प्रविधिमा आधारित राष्ट्रिय पहिचानको बहुउपयोगी प्रमाणपत्र हो ।
राष्ट्रिय परिचयपत्र लागु भएपछि नेपालबाट प्रदान गरिने कुनै पनि सेवा सुविधा प्राप्त गर्न वा त्यस्तो सेवा सुविधाको माग गर्दा पनि परिचयपत्र पेस गर्नुपर्ने हुन्छ । साथै यसलाई सार्वजनिक सेवा प्राप्तिको मुख्य आधार तथा व्यक्तिको पहिचानको प्रमाणको रूपमा मान्यता दिइने भएकोले राष्ट्रिय परिचयपत्रलाई सरकारले अनिवार्य गरेको छ ।