भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा अबैध रुपमा भन्सार तथा राजश्व छली चोरीपैठारी गर्दै गरेको ८ लाख १ हजार ८५० रुपैयाँ बरावरको अबैध सामान नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. ८ अञ्चलपुरबाट रोहिणी गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २७ को अजित अग्रहरीले चलाएको लु ६६ प ४९०५ नं.को मोटरसाइकलमा ल्याउंदै गरेको कस्मेटिक सामान तथा गैडहवा गाउँपालिका वडा नं.६ गुलरिया चोकबाट कोटहिमाई गाउँपालिका वडा नं.४ बस्ने बर्ष १९ को गोलु खानले चलाएको लु ४४ प ४०४८ नं.को मोटरसाईकलमा ल्याउंदै गरेको ५२ वटा बोईलर कुखुरा मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय मझगावाँबाट खटिएको प्रहरी टोलीले मायादेबी गाउँपालिका वडा नं. ६ सानो दुर्गौलियाबाट लेडिज सुट ९ पिस, साडी २४ पिस , विभिन्न थानको कपडा करिव १४० मिटर, तुल्सी चियापत्ती १५ पोका, खुर्सानी (डेगी मिर्च) ५५ प्याकेट र धाराको टुटी ५० वटा तथा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ६ महजिदियाबाट युरिया मल ९ बोरा बरामद गरेको छ ।
यस्तै इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरी टोलीले रोहिणी गाउँपालिका वडा नं. ३ कदमहवाबाट लु ६ प ३२११ न. को मोटरसाइकलमा ल्याउंदै गरेको ८ पेटी टायल मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरी टोलीले कञ्चन गाँउपालिका वडा नं. ०२ कञ्चन पुलबाट लु. २ प ८७०३ नं.को मोटरसाइकलमा ल्याउंदै गरेको ब्रोइलर कुखुरा ५० पिस मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं.१ बाइपासबाट लेडिज कुर्ता सुरुवाल १६ थान, लेडिज टप्स १३९ थान, थ्री पिस सेट ३४ सेट र लेङ्गा चिनरी १ थान कपडा तथा वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं.८ बाट भारत उत्तर प्रदेश राज्य मुजफ्फरनगर सिटी बस्ने बर्ष ३३ को मोहम्मद गुलसनवारको साथबाट एप्पल सिरिज ९ घडी र एप्पलआयरपोडस् प्रो वायरलेस बरामद गरेको छ ।
प्रहरी चौकी कालिदहबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १ भगवानपुरबाट लु ३४ प ५२३० न.को मोटरसाईकलमा ल्याउँदै गरेको युरिया मल ४ बोरा मोटरसाइकल सहित बरामद गरेको छ ।
बरामद भएका सामान र पक्राउ परेका मानिसहरुलाई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया तथा पशु क्वारेन्टाईन कार्यालय वेलहियामा बुझाइएको प्रहरीले जनाएको छ ।