भैरहवा । रुपन्देही प्रहरीले ज्यान मार्ने उद्योग र बैकिङ कसूर मुद्धाका फरार दुई जना कसुरदारलाई पक्राउ गरेको छ ।
रुपन्देही जिल्ला अदालतको मिति २०८० साल जेठ २५ गतेको फैसला बमोजिम ज्यान मार्ने उद्योग मुद्धामा ३ बर्ष ११ महिना ८ दिन कैद सजायभई हाल सम्म फरार रहेका कञ्चन गाउँपालिका वडा नं. ५ बस्ने बाबुराम थारुलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरी टोलीले निज थारुलाइ आज पक्राउ गरी जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेश अनुसार कैद सजाय भुक्तानको लागि जिल्ला कारागार कार्यालय रुपन्देहीमा चलान गरिएको प्रहरीले जनाएको छ ।
यस्तै प्रहरीले बैकिङ् कसुर मुद्धाका मायादेवी गाउँपालिका वडा नं. २ बस्ने बर्ष ४१ को जोगेन्द्र लोहारलाई पनि पक्राउ गरेको छ । रुपन्देही जिल्ला अदालतको मिति २०८१ साल पुस २५ गतेको फैसला बमोजिम निज लोहारलाई बैकिङ् कसुर मुद्धामा ३ महिना कैद र ५७ लाख रुपैयाँ जरिबाना सजाय फैसला भएकोमा हालसम्म फरार रहेका थिए ।

निजलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी अदालतमा पेश गरिएकोमा कैद तथा सजाय भुक्तानको लागि जिल्ला कारागार चलान भएको प्रहरीले जनाएको छ ।