बुटवल । अर्थशास्त्री, विश्लेषक एवम् लेखक मनिकर कार्कीको नयाँ पुस्तक ‘अर्थदृष्टि अल्पविकासको अर्थ राजनीति’ को बुटवलमा विमर्श भएको छ । नेपालको आर्थिक विकासको स्वरुप, समाज र अर्थतन्त्रको चरित्र एवम् त्यसका जटिलता र चुनौतीहरूलाई गहन रूपमा विश्लेषण गरिएको सो पुस्तकको शनिवार बुटवलमा विमर्श गरिएको हो ।
विमर्श कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अर्थराजनीति समाज रुपान्तरणका लागि आवश्यक रहेको बताउनुभयो । साथै उहांले उक्त पुस्तकले नेपालको अर्थराजनीतिको सम्रग विषय समेटेको बताउँदै राजनीतिज्ञदेखि विद्यार्थी वर्गसम्मका लागि उपयोगि रहेको बताउनुभयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका परीक्षा नियन्त्रक इन्द्र काफ्लेले पुस्तक इतिहासलाई गहिरोसम्म अध्ययन गरी तथ्यमा आधारित रहेर लेखिएको बताउनुभयो । यस्तै पुस्तकले युवाहरुलाई सन्देश समेत दिएको र नीति निर्माता तथा राजनीतिज्ञहरुले उक्त पुस्तकको अध्ययन गर्न आवश्यक रहेको उहांले बताउनुभयो ।
लुम्बिनी वाणिज्य क्याम्पसकी प्राध्यापक विष्णु जोशीले पुस्तकले राजनीतिसँग अर्थशास्त्र जोडिन आवश्यक रहेको कुरामा जोड दिएको बताउनुभयो । पुस्तकले नेपाल पछाडी पर्नुको कारणदेखि अर्थतन्त्रका सबै समस्याहरुको बारेमा उल्लेख गरेको बताउनुभयो । यस्तै पुस्तक सरल र सहज भाषामा लेखिएकाले अर्थशास्त्र अध्ययन नगरेकाले पनि सजिलैसँग बुझन् सक्ने उहांले बताउनुभयो ।
यस्तै बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक डा. सञ्जयकुमार कर्णले सुरुदेखि अन्त्यसम्म पाठकलाई आफु तर्फ तान्ने गरि पुस्तक लेखिएको बताउनुभयो । पुस्तकमा सम्रग अर्थव्यवस्था र अर्थराजनीतिको बारेमा उल्लेख गरिएकाले अध्ययन गर्नु सबैका लागि फाइदा जनक हुने उहांको भनाइछ ।
पुस्तकका लेखक मनिकर कार्कीले आफुले आम नागरिकहरुले मनमा लेखेका कुराहरुलाई पुस्तकमा लेखेको बताउनुभयो । साथै समाजलाई दिशाबोध गराउन पुस्तक लेख्न आवश्यक ठानेर आफुले पुस्तक लेखेको बताउंदै उहांले निरन्तर रुपमा आफुले अब पुस्तक लेख्ने भएकाले पुस्तक अध्ययन गरेर आलोचनात्मक सुझाव दिनका लागि सम्पूर्ण पाठकहरुलाई अपिल समेत गर्नुभयो ।
पुस्तक विमर्श कार्यक्रमको सहजीकरण लेखक माधवकुमार पौडेलले गर्नुभएको थियो भने कार्यक्रममा पाठक मञ्चका सरिता श्रीसले स्वागत गर्नुभएको थियो । कार्यक्रममा यस क्षेत्रका प्राज्ञिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
पुस्तकको जेठ ९ गते काठमाडौंमा पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नयाँशक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराई, नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेल, पूर्वमन्त्री तथा नेकपा(एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डे, पूर्वमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्री, पूर्वमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ र अनुसन्धानकर्ता एवम् अर्थशास्त्री डा. कल्पना खनालले संयुक्त रूपमा विमोचन गर्नुभएको थियो ।
इन्डिगो इन्क प्रकाशन गृहद्वारा प्रकाशित यो पुस्तकको मूल्य ६९९ रुपैयाँ तोकिएको छ । यो मनिकर कार्कीको दोस्रो पुस्तक हो । यस अघि कार्कीको ‘वैकल्पिक अर्थतन्त्र’ नामक पुस्तक प्रकाशित भइसकेको छ, जसले नेपालको आर्थिक नीतिका वैकल्पिक दृष्टिकोणहरूबारे चर्चा गरेको थियो ।
‘अर्थदृष्टि’ ले भने नेपाली अर्थतन्त्रको ऐतिहासिक चरित्र उत्खनन् गर्दै मुलुकको अल्पविकासको जटिलताहरूलाई राजनीतिक र सामाजिक सन्दर्भसँग जोडेर अझ व्यापक विश्लेषण प्रस्तुत गरेको छ ।