भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको करिव १५ लाख ३० हजार ९८० रुपैयाँ बरावरको सामान नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. २ मेउडिहवा र गैडहवा गाउँपालिका वडा नं.३ बाट ना २ ह ६५७५,लु २६ प ७९६१ र लु १० प २१८१ नं.को. मोटरसाईकलमा ल्याउदै गरेको जेन्स पाईन्ट १०६ पिस, डब्लु पी ३० उषा कम्पनिको पानी तान्ने मोटर २ वटा, मटर (केराउ) ३५ किलो, प्लाष्टिकको रेनकोट ७० पिस, लेडिज चप्पल ७ जोर, कपडा ५५ मिटर, मोवाईल कबर २३० पिस, ११६ पिस जिउदो बोईलर कुखुरा मोटरसाइकल सहित बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. ८ अञ्चलपुरबाट ई ई जी मशिन १ सेट, अडियोमिटर १ सेट र पी एफ टी (एसपीनोमेट्स) १ सेट गरी ८ लाख १३ हजार ६०० मूल्य बरावरको सामान बरामद गरी राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाएको छ ।
यस्तै इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले लुम्बिनी साँंस्कृतिक नगरपालिका वडा नं. ३ ठुलो पडरियाबाट लु १८ प ९६९५, र लु ४२ प १०६३ न. को मोटरसाईकलमा ल्याउँदै गरेको युरिया मल ७ बोरा र किराना सामान बरामद गरेको छ ।
प्रहरी चौकी ठर्कीबाट खटिएको प्रहरी टोलीले मर्चवारी गाउँपालिका वडा नं. ६ ठर्कीबाट लु १९ प २८२१ नं.को मोटरसाईकलमा ल्याउंदै गरेको २ बोरा आलु र २० के.जी.तरकारी मोटरसाइकल सहित बरामद गरेको छ ।
बरामद भएका सामान र सवारी साधन आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय,राजश्व अनुसन्धान कार्यालय बुटवल र पशु क्वारेन्टाईन चेक पोष्ट बेलहियामा बुझाइएको प्रहरीले जनाएको छ ।