सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर २ अवरहियामा छोराले कोदालो प्रहार गरि आफ्नै बुबा र छिमेकिको हत्या गरेका छन ।
आज (शुक्रवार) बिहान करिब साढे १० बजेको समयमा सुनवल २ बस्ने २७ बर्षिय हेमराज थारुले कोदालो प्रहार गरी आफ्नै बुबा ५० वर्षीय जय राम थारु र छिमेकी ७० वर्षीय नाथु धरिकारको हत्या गरेका हुन् ।
हेमराजले बुबा जय राम थारुको घाँटीमा कोदालो प्रहार गर्दा घटनास्थलमै ज्यान गएको र त्यसलगत्तै उनले छिमेकी नाथु धरिकारलाई पनि टाउको र घाँटीमा कोदालो प्रहार गरी हत्या गरेको स्थानीयलाई उध्दृत गर्दै ईलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक सन्तोष पौडेलले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक पौडेलका अनुसार घटनाबारे जानकारी पाउन साथ प्रहरी टोली उक्त स्थानमा पुगेको र हत्यामा संलग्न हेमराजलाई नियन्त्रणमा लिएको छ ।
हत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहेको र हेमराजलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी पठाईएको सुनवल प्रहरीले जनाएको छ ।