तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडानम्बर–१४ ले आर्थिक वर्ष २०८१÷८२ को सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । साबिक टिकुलिगढ गाबिसबाट बनेको वडा नम्बर–१४ ले वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ गरेको हो ।
वडा अध्यक्ष आश्विन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा अध्य्क्ष पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनका आधारमा एवं नगरपालिकाको सेवाको विषयमा सवाल जवाफ भएको थियो ।
सार्वजनिक सुनुवाइ कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष पौडेलले वडाका निर्माण योजना र कार्यक्रम सम्पन्न गरेपश्चात हरेक बिकासका योजनाहरू पारदर्शी हुनुपर्ने भन्दै वडाले सार्वजनिक सुनुवाइ गर्नु महत्त्वपूर्ण रहेको बताउनुभयो ।
सेवाग्राहीहरुको जिज्ञासाको समाधान गर्दै अध्यक्ष पौडेलले सेवा प्रबाह र वडाका योजनाहरुमा सुशासन कायम भएमा मात्र सेवाग्राहीले सहजता पाउने उल्लेख गर्नुभयो । ठुलो सङ्घर्षबाट स्थानीय तह निर्माण भएकाले जनप्रतिनिधि सबैको साझा हुनुपर्ने र हातेमालो गरेर समाज निर्माणमा लाग्नुपर्ने उहाँको भनाइ थियो ।
सो अवसरमा बोल्दै कार्यपालिका सदस्य रवि सेन्चुरीले युवा महिलासंगै बिद्यार्थी र बिद्यालयका बारेमा आएका जिज्ञासाको समाधान गर्नुभएको थियो । सेवाग्राहीहरुले बिकास निर्माण प्रति चासो दिएर गुणस्तरयुक्त योजना सम्पन्न गर्न सबैको निगरानी आवश्यक भएको उहाँले बताउनुभयो । कार्यक्रममा वडा सदस्यहरु भुपाल सिंह छन्तेल, बिष्णुमाया पुन, बिष्णु कुमारी सावत, सन्तविर चौधरी, वडा सचिव तेजेन्द्र बस्नेत, टोल बिकास संजालका अध्यक्ष देव बहादुर बगाले, नगर बाल संजालका अध्यक्ष बिबेक खड्का, वडा बाल संजालका उपाध्यक्ष पदमा न्यौपाने, टिकुलिगढ़ खानेपानी सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष श्याम खरेल, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले वडाको बजेट तथा सेवा प्रवाहका विषयमा प्रश्न गरेका थिए । कार्यक्रमको संयोजन तिलोत्तमा सिटीले गरेको थियो भने संचालन पत्रकार सरु रानाले गर्नुभएको थियो ।