भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा अन्दाजी मुल्य रु.६ लाख ९६ हजार १३३ बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १ र २ बाट लु ३४ प ९४८८ र लु ६ प ९३९५, युपी ५५ ई ८७०५ न. को मोटरसाईकलमा ल्याउदै गरेको बोईलर कुखुरा ९० वटा (१५०के.जी.) र मासु १८ के.जी. मोटरसाइकल सहित बरामद गरेको छ ।
यस्तै इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं.१ नेउडिहवाबाट बेवारिसे अवस्थामा रहेको म्याग्नेसियम ग्लिसिनेट औषधी ६ कार्टुन बरामद गरेको छ ।
प्रहरी चौकी मेउडिहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. ११ नौडिहवाबाट लु १० प ९८८३ नम्बरको मोटरसाईकलमा गुल मञ्जन १ कार्टुन, हर्रो १ बोरा मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी कालिदहबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १३ कालिदहबाट किराना सामान बरामद गरेको छ । बरामद भएका सामान आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाईन चेक पोष्ट कार्यालय बेलहियामा बुझाइएको प्रहरीले जनाएको छ ।