काठमाडौं । सांसद दीपक बोहराको निधन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको बोहोराका स्वकिय सचिव तारामणि चन्दले जानकारी दिनुभयो ।
कोरोना महामारीका बेला गम्भीर बिरामी पर्नुभएका बोहोरा त्यसयता घाँटीसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित बोहरा बोल्न नसक्ने अवस्थामा पुग्नुभएको थियो । यही कारण उहांले प्रतिनिधिसभामा एकपटक पनि बोल्नुभएन ।
राजनीतिक यात्रा हेर्ने हो भने बोहोरा पञ्चायतकालमा ५ पटक र गणतन्त्रपछि ४ पटक गरी ९ पटक मन्त्री बन्नुभयो । २०३८ सालमा पर्यटन राज्यमन्त्री हुँदै सहायकमन्त्री बन्नुभएका बोहोराले २०४०, २०४३ र २०४४ सालमा पनि विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभयो । गणतन्त्रपछि २०६७ मा बन तथा भूसंरक्षण मन्त्री, २०७२ मा श्रम तथा रोजगार मन्त्री, २०७३ मा आपूर्ति मन्त्री र २०७४ मा स्वास्थ्य मन्त्री बन्नुभएको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रहेका बोहरा २०३६ सालमा रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्य बने। त्यसपछि २०४२ सालमा पुनः पञ्चायत सदस्य निर्वाचित भए । २०६४ सालको संविधानसभा चुनावमा पराजित भए पनि २०७० मा रुपन्देही क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्य बन्नुभयो । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उहांले नेपाली कांग्रेसका तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गर्नुभएको थियो ।
स्वास्थ्य समस्या गहिरिँदै गएपछि पछिल्लो समय उहां पार्टी राजनीतिमा खासै सक्रिय हुन सक्नुभएन । चार दशकभन्दा लामो राजनीतिक यात्रा तय गरेका बोहराको निधनले राप्रपाले अनुभवी नेतृत्व गुमाएको छ ।