बुटवल । बुटवलमा भन्सार छलेर ल्याइएको ठूलो परिमाणको अवैध मदिरा प्रहरीले बरामद गरेको छ । प्रहरी बिट नयाँ बसपार्क बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो बुटवल उपमहानगरपालिका–९ ईट्टाभट्टीबाट अवैध मदिरा बरामद गरेको हो ।
भन्सार छली चोरी पैठारी गरी ल्याइएको २० वटा कार्टुनमा रहेको २४० पिस मदिरासहितको बोतल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक महेन्द्र सेनले जानकारी दिनुभयो ।
बुटवलको बसपार्क पछाडि ईट्टाभट्टीबाट अबैध मदिरा बरामद गरे पनि अबैध कारोवारमा संलग्न ब्यक्तिलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । बेवारिसे अवस्थामा फेला परेको अन्दाजी २ लाख ४० हजार रुपैयाँ बराबरको भारतीय मदिरा आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देहीमा बुझाइएको प्रहरी निरीक्षक सेनले बताउनुभयो ।