बुटवल । सञ्चार माध्यमका समस्या, चुनौती र सम्भावनाबारे छलफल गर्न शुक्रबारदेखि बुटवलमा दुईदिने मिडिया सम्मेलन हुने भएको छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनी ले वरिष्ठ पत्रकार र विज्ञहरूको सहभागितामा सम्मेलन आयोजना गर्न लागेको हो ।
संघले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष नवराज कुँवरले सम्मेलनलाई सातवटा सत्रमा बाँडिएको र विभिन्न विषयमा समूहगतरुपमा छलफल गरिने बताउनुभयो ।
अध्यक्ष कुँवरका अनुसार पहिलो सत्रमा “परम्परागत मिडिया : आजको अवस्था, भोलिको बाटो” विषयमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया र अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापा ले प्रस्तुति दिनेछन् ।
दोस्रो सत्रमा “छापा माध्यम : किन र कसका लागि ?” भन्ने विषयमा आर्थिक अभियान दैनिकका प्रधान सम्पादक मदन लम्साल र सौर्य दैनिकका प्रधान सम्पादक बोधराज त्रिपाठीको प्रस्तुति रहनेछ ।
तेस्रो सत्रमा “के अनलाइन पत्रकारिता सधैका लागि हो ?” भन्ने विषयमा अनलाइनखबरका धर्मराज भुसाल र बाह्रखरी मिडियाका प्रतिक प्रधान ले आआफ्नो विचार प्रस्तुत गर्नेछन् ।
चौथो सत्रमा “किन फस्टाउन सकेन विज्ञापन बजार ?” भन्ने विषयमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको प्रस्तुति रहने छ भने पाँचौं सत्रमा “अनेक संस्थाः नियमन कि नियन्त्रण ?” विषयमा नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदिप परियार, न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगिता खड्का र गीत–संगीत रोयल्टी संकलन समाजका सुरेश अधिकारी को प्रस्तुति रहनेछ ।
छैटौं सत्रमा “पत्रकार र पत्रकार महासंघको सम्बन्ध : के भयो ? के हुँदैछ ?” भन्ने विषयमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, पूर्व अध्यक्ष विपुल पोखरेल र दैनिक लुम्बिनीका सम्पादक शेरबहादुर केसी ले विचार प्रस्तुत गर्नेछन् ।
सम्मेलनमा विज्ञहरूको प्रस्तुति पछि प्रश्नोत्तर सत्र पनि हुनेछ । संघका उपाध्यक्ष विष्णु भुसालले यो सम्मेलन मिडिया क्षेत्रको भविष्यका लागि कोसेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । संघका सचिव माधव नेपालका अनुसार, एफएम रेडियोका विषयमा छुट्टै सत्र नराखिए पनि सहभागी विज्ञहरू रेडियो सञ्चालकसमेत भएकाले एफएम रेडियोका समस्या पनि उठ्नेछ ।
मिडिया सम्मेलनले सञ्चार माध्यमका समस्या, समाधान र भविष्यको दिशा तय गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।