भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपलिकाले महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सर रोगको जोखिम न्यूनीकरणका लागि स्क्रिनिङ शिबिर सुरु गरेको छ ।
शिबिरमा महिलाहरुको पाठेघर झरेको, पिशाव चुहिने समस्या, स्तन क्यान्सरको जाँच गरिने छ । शिबिरको सोमवार वडा नं ९ बाट सुरुवात गरिएको छ ।
शिबिर नगरका बिभिन्न ४ स्थानमा हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वरी प्रसाद न्यौपानेले जानकारी दिनुभयो । शिबिर सोमवार वडा नं ९, मंगलवार वडा नं ३ को खजहना, बुधवार वडा नं १ को बेलहिया, र बिहीबार वडा नं ११ को भुजौलीमा हुने छ । सवै शिबिरहरु वडाका आधारभुत स्वास्थ्य सेवा केन्द्रमा संचालन हुने छ ।
वडा स्तरमा शिबिर संचालन गरिए पनि आफुलाई पायक पर्ने स्थानमा गएर महिलाहरुले आफ्नो पाठेघर सम्वन्धी निःशुल्क स्वास्थ्य जाँच गराउन सक्ने व्यवस्था मिलाईएको सिद्धार्थनगर नगरपालिकाकी उप प्रमुख उमा अधिकारीले जानकारी दिनुभयो ।
धेरै महिलाहरुमा देखिने पाठेघर सम्बन्धि यो समस्यालाई समयमै पत्ता लगाई उपचार गरी निको पार्ने र समस्यानै आउन नदिने उद्देश्यले नगरपालिकाले बर्षेनी शिबिर सचांलन गर्दै आएको उहांले बताउनुभयो ।
सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख ईश्तियाक अहमद खाँले नेपालमा महिलाहरूमा हुने क्यान्सरहरू मध्ये पाठेघरको मुखको क्यान्सर महिलाको मृत्यु हुनेमा पहिलो कारण रहेको उल्लेख गर्दै समयमै पहिचान गरी उपचार गरेर यो रोग निको पार्ने उद्देश्यले नगरपालिकाले निःशुल्क शिबिर संचांलन गर्दै आएको जानकारी गराउनुभयो ।
पाठेघरको मुखको क्यान्सरबाट बच्न व्यापक जनचेतना अभिवृद्धि गरी समयमा नै यो रोगको पहिचान गर्ने यस अभियानलाई सफल बनाउन सबै जनप्रतिनिधी, समाजसेवी, सञ्चारकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी लगायत सरोकारवाला संघ–संस्थाहरू सक्रियरूपमा संलग्न भई सहयोग गरिदिन समेत उहांले आग्रह गर्नुभएको छ ।
शिविरमा ३० वर्ष भन्दा माथि उमेर समूहका महिलाहरूको पाठेघरको मुखको परीक्षण गरिने छ ।
