सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका–४ मुर्गियास्थित फुटबल रङ्गशालामा हुने प्रथम सुनगाभा सैनामैना गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
प्रतियोगिता फागुन १९ देखि २८ गतेसम्म सैनामैना रङ्गशालामा हुने र प्रतियोगितामा १० टिमको सहभागिता रहने छ ।
आयोजक सैनामैना फुटबल क्लबका खेल संयोजक अशोक खड्काका अनुसार प्रतियोगितामा डिजेङ्गी फूटबल क्लब सिक्किम भारत, गोरखा ब्वाइज फूटबल क्लब बुटवल, महावीर क्लब काठमाडौँ, एपीएफ क्लब काठमाडौँ, नेपाल पुलिस क्लब काठमाडौँ, कपिलवस्तु ११ कपिलवस्तु, अभिषेक चर्च नवलपुर, हनामी बिएफसी चितवन, फर्सटिकट युथ क्लब रूपन्देही र आयोजक मुर्गिया फूटबल क्लब गरी १० टिमको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेता टिमलाई सात लाख र उपविजेतालाई चार लाख रुपियाँ पुरस्कार तथा प्रमाणपत्र र कप प्रदान गरिनेछ । रुपन्देहीलाई खेल क्षेत्रको हव बनाउन र राष्ट्रिय स्तरका युवा खेलाडी उत्पादन गर्न प्रतियोगिता सहयोगी बन्ने आयोजकको भनाइ छ ।
प्रतियोगिता सम्पन्न गर्न ६० लाख रुपियाँ खर्च लाग्ने प्रतियोगिताका आर्थिक संयोजक गोपाल खड्काले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन खेल सोमबार आयोजक मुर्गिया फुटबल क्लब र गोर्खा ब्वाइज फूटवल क्लव बुटबलबिच हुनेछ ।