तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं–१७ मा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडान गरिएको छ ।
प्रोजेक्ट बेसमा काम भएकोले करिब ७ करोड लागतमा ५ वटा फ्लड लाइट जडान गरिएको स्टेडियमका प्रबन्ध निर्देशक विनोद कुँवरले जानकारी दिनुभयो । लाइट टेस्टिङको काम संगै फ्ल्यास र फोकसको काम शुरु भएको उहांले बताउनुभयो ।
२०८० साल जेठ २९ गते शिलान्यास भएको मैदान २०८० फागुनमै तयार भएको थियो । फागुन २८ मा मैदानको उद्घाटन गरी लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो । नेट प्राक्टिसका लागि पनि छुट्टै पिच तयार गर्ने काम करिव ८० प्रतिशत सम्पन्न भइसकेको र प्याराफिट संगै खेलाडी, आवास, भिआइपि, भिभिआइपी फ्ल्याट समेत अन्तिम चरणमा रहेको स्टेडियमका निर्देशक कुँवरले बताउनुभयो । उहांका अनुसार यसका साथै मैदानमा प्याराफिट लगायत अन्य भौतिक संरचनाका कामहरु यहि बर्ष भित्रै पुराहुने गरि अगाडि बढिरहेको छ ।
नेपालमै पहिलो फ्लड लाइट जडित क्रिकेट रंगशालामा प्रधानमन्त्री कप सञ्चालन गर्ने तयारी पनि गरिएको छ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएपछि नेपाल क्रिकेट संघका पदाधिकारी, खेलकुद परिषद, तिलोत्तमा नगरपालिका लगायतका सरोकारवाला निकायबाट रंगशालाको स्थलगत अवलोकन गर्ने कार्य समेत जारी रहेको छ ।
यसैक्रममा सोमबार तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालसहितको टोलीले एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियमको स्थलगत अबलोकन गरेको छ ।
अवलोकनका क्रममा प्रमुख प्रशासकीय अधिकृत अर्यालले लुम्बिनी प्रदेशको रूपन्देही र त्यसमा पनि तिलोत्तमालाई रोजेर निजि स्तरबाट स्टेडियम निर्माण गरिएकोमा खुशी ब्यक्त गर्दै नगरपालिकाबाट गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । खेलाडी र खेलप्रेमीहरुको लागि मात्रै नभएर समग्र तिलोत्तमा र स्थानियबासीहरुका लागि पनि यो अर्को खुशी थपिएको उहांले बताउनुभयो ।
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता पहिलो पटक काठमाडौं बाहिर आयोजना हुन लागेको हो । नेपाल क्रिकेट संघ (क्यान) ले पिएम कपको यो संस्करण लुम्बिनी प्रदेशमा आयोजना गर्दै छ । प्रतियोगिता लुम्बिनी प्रदेशका तीन रंगशाला रुपन्देहीका सिद्धार्थ रंगशाला, एक्स्ट्रा टेक ओभल र दाङको लहमी क्रिकेट मैदानमा प्रतियोगिताका खेल हुनेछन् । क्यानले शुक्रबार सार्वजनिक गरेको तालिका अनुसार सिद्धार्थ रंगशालामा सर्वाधिक १७ खेल हुनेछ । फाइनल पनि यही रंगशालामा हुनेछ । यस्तै, निर्माणानिध एक्स्ट्रा टेक ओभलमा १५ र लहमीमा १४ खेल हुनेछन् । प्रतियोगिता मार्च ९ देखि २९ सम्म सिंगल राउन्ड रोबिनका आधारमा हुनेछ ।
प्रतियोगितामा ३ विभागीय र प्रदेशका ७ गरी कुल १० टिम सहभागी हुनेछन् । प्रतियोगिताको उद्घाटन खेल पनि सिद्धार्थ रंगशालामै हुनेछ । जसमा कोशी र लुम्बिनी प्रदेश भीड्ने छन् । सोही दिन एक्स्ट्रा टेकमा बागमती प्रदेश र एपिएफ र लमहीमा कर्णाली प्रदेश र सुदूरपश्चिमबीच खेल हुनेछ । लिग चरणका शीर्ष दुई टिमबीच उपाधि भीडन्त हुनेछ भने शीर्ष चार टिम दुई दिवसीय जय ट्रफीका लागि छनोट हुनेछन् । नेपाल पुलिस क्लब प्रतियोगिताका डिफेन्डिङ च्याम्पियन हो ।