भैरहवा । रुपन्देही प्रहरीले अबैध रुपमा बालुवा चोरी निकासी गरी ओसारपसार गरिरहेका दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरी टोलीले यही फागुन ११ गतेका दिन सियारी गाउँपालिका वडा नं. ७ अमुवा स्थित नदी खोलाबाट अबैध रुपमा बालुवा चोरी निकासी गरी ओसारपसार गरिरहेको अवस्थामा ती ट्याक्टर नियन्त्रणमा लिएको हो ।
प्रहरीले लु २ त ३१३९ नम्बर र लु ४ त ५४४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सियारी गाउँपालिकाको कार्यालयमा पठाइएकोमा पालिकाले रु.९० हजार जरिवाना तिराएको प्रहरीले जनाएको छ ।
भन्सार छलीका अबैध सामान बरामद
जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतबाट खटिएको प्रहरी टोलीले फागुन ११ र १२ गतेका दिन जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी निकासी÷ पैठारी गरेको अवस्थामा ६ लाख बढिको सामान वरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले बुटवल उप–महानगरपालिका वडा नं.९ इट्टाभट्टीबाट जिल्ला कपिलवस्तु कपिलवस्तु नगरपालिका वडा नं.४ बस्ने बर्ष २५ को सुरेन्द्र गडेरिया पाललाइ हाते रुमाल र मोजा गरी करिव ५२ हजार ६८० रुपैयाँ बराबरको सामान सहित नियन्त्रणमा लिएको छ ।
वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं.६ गल्लामण्डीबाट रा १ ह ४२३४ नं. को ई–रिक्सामा लोड गरिएको अवस्थामा बदाम दाना २ बोरा, मटर दाना ९ बोरा र ई–रिक्सा सहित करिव २ लाख ३७ हजार ६०० बराबरको सामान बरामद गरेको छ ।
यस्तै प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरी टोलीले देवदह नगरपालिका वडा नं.७ सितलनगरबाट बेवारिसे अवस्थामा रहेको ३ बोरा २३३ पिस लेडिज सुट करिव ३ लाख ४९ हजार ५०० रुपैयाँ बराबरको कपडाहरु बरामद गरेको छ ।
वरामद भएका सामानहरु आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया र राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको रुपन्देही प्रहरीले जनाएको छ ।