बुटवल । रुपन्देहीको सियारीमा एक महिलाको हत्या गरी फालिएको अवस्थामा शव फेला परेको छ । सियारी गाउँपालिका–२ भगदरी स्थित बेथरी सडकखण्डको किनारमा अन्दाजी ४५ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) सुरज कार्कीका अनुसार टाउकोमा ढुङ्गा प्रहार गरी महिलाको हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । डिएसपी कार्कीका अनुसार मृतक महिलाको टाउकोमा चोट देखिएका कारण टाउकोमा ढुङ्गा प्रहार गरी हत्या भएको हुन सक्ने अनुमान गरिएको छ ।
महिलाको पहिचान हुन बाँकी रहेको र घटनाका बारेमा प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान सुरु गरिरहेको सूचना अधिकारी कार्कीले बताउनुभयो ।
विहिबार विहान साढे ११ बजे परालले ढोकेको अवस्थामा सडक किनारको गहुं खेतमा शव फेला परेपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए ।