बुटवल । बुटवलमा जारी मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिता अन्तर्गत चौथो दिन आज क्वाटर फाइनल समिकरण पुरा भएको छ । प्रतियोगिता अन्तर्गत भोली शुक्रबारदेखि सेमिफाइनल खेल हुने भएको छ ।
बुटवलको तामनगर स्थित चारपाला खेल मैदानमा आजे भएको पहिलो क्वाटर फाइनलमा नविन औद्योगिक माविलाई ३–२ ले हराउँदै सरस्वती मावि सेमिफाइनलमा प्रवेश गरेको छ ।
चारपाला खेल मैदानमै भएको अर्को खेलमा कान्ति माविलाई ३–० ले हराउँदै स्कलर्स होम सेमिफाइनलमा प्रवेश गरेको बुटवल नगर खेलकुद विकास समितिकी प्रचारप्रसार संयोजक सुनिता गिरीले जानकारी दिनुभयो ।
उता जवई खेलमैदानमा आजै भएको नयाँगाउँ मावि र न्यू होराइजन स्कुलबीचको खेलमा स्कलर्स होम ३–० ले विजयी हुदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
जवई खेलमैदानमै आज भएको मोतिपुर मावि र अक्सफोर्ड माविबीचको खेलमा २–० ले अक्सफोर्ड विजयी भएको प्रतियोगिताका रेफ्रि सेरजंग गुरूङले जानकारी दिनुभयो । आजको जितसँगै अक्सफोर्डले पनि सेमिफाइनल यात्रा तय गरेको छ ।
त्यस्तै जवई खेल मैदानमै आज भएको छात्रा तर्फको क्वाटरफाइनल खेलमा कान्ति माविलाई १–० ले हराउँदै गार्गी मावि सेमिफाइनलमा प्रवेश गरेको छ भने न्यू होराइजन र कालिका मानवज्ञान मावि बीचको खेलमा पेनाल्टी सुटआउटमा ३–२ ले कालिका विजयी हुदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
भोली शुक्रबार चारपाला खेलमैदानमा सरस्वती मावि र स्कलर्स होमबीच सेमिफाइनल खेल हुनेछ । उता जवई खेलमैदानमा भोली शुक्रबार न्यू होराइजन मावि र अक्सफोर्ड माविबीच सेमिफाइनल हुने छ भने छात्रा तर्फ ज्ञानोदय मावि र गार्गी मावि तथा नविन औद्योगिक मावि र कालिका मानवज्ञान माबिबीच सेमिफाइनल प्रतिस्पर्धा हुने प्रतियोगिताका खेल कमिसार हरिप्रसाद श्रेष्ठले बताउनुभयो ।
प्रतियोगितामा छात्रतर्फ २५ टिम र छात्रातर्फ १० टिमको सहभागिता रहेको नगर खेलकुद बिकास समितिका अध्यक्ष बोनिन पियाले जानकारी दिनुभयो । छात्र तर्फ विजेता विद्यालयले नगद एक लाख पुरस्कार,शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपपिजेताले नगद ६० हजार पुरस्कार,शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
छात्रा तर्फ विजेताले नगद ५० हजारसहिद शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३० हजारसहित शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।