बुटवल । नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले बुटवलको औद्योगिक व्यापार मेला अवलोकन गर्नुभएको छ । उपप्रधानमन्त्री सिंहले बुधबार दिउँसो मेलाको स्थलगत अवलोकन गर्नुहुँदै औद्योगिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
मेलाले उद्योगबाट उत्पादित बस्तुको प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उहाँले मेला महोत्सव उद्योगका लागि प्रेरणाको स्रोत बन्ने र स्थानीयसंगै देशकै अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्ने भनाई राख्नुभयो ।
बुटवलमा निर्माण सम्पन्न भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र निर्माणाधिन अवस्थामा रहेको अन्तर्राष्ट्रि प्रदर्शनीस्थल सरकारको विशेष संरचना व्यवस्थापन र सञ्चालन गठन आदेश मन्त्रीपरिषदबाट पारित भईसकेको बताउँदै सञ्चालन व्यवस्थापनको लागि खुला प्रतिस्पर्धामा अगाडि बढेको पनि जानकारी गराउनु भयो ।
यहि पुस ३ गतेदेखि सुरु भएको औद्योगिक व्यापार मेलाको उद्घाटन उपप्रधानमन्त्री सिंहले गर्ने कार्यक्रम तय भएको थियो । तर मन्त्री सिंह पारिवारिक शोकमा परेका कारण आउन नसकेकोले मेला अवलोकनका लागि आएको बताउनु भयो । उहाँले मेलाको सफलताको शुभकामना व्यक्त गर्दै मेलाको व्यवस्थापन राम्रो देखिएको प्रतिक्रिया दिनुभयो ।
उपप्रधानमन्त्री सिंहलाई बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण, सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे लगायत बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उद्योग उपाध्यक्ष सुरज भट्टराई, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, महासचिव मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष बसन्तप्रसाद ढकाल, सचिव प्रतिक पोखरेल, सहकोषाध्यक्ष धनाकुमारी खनाल लगायतका पदाधिकारीहरुले स्वागत गर्नुभएको थियो । त्यसै अवसरमा उपप्रधान तथा शहरी विकास मन्त्री सिंहले प्रदर्शनीस्थल संगै बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको समेत अवलोकन गर्नुभएको थियो ।
‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नारा सहित आयोजना गरिएको मेलामा ५ सय स्टल सहभागि छन् । औद्योगिक उत्पादनको प्रवर्धन, कृषि, पर्यटनको प्रवर्धन तथा व्यबसायिकरणका लागि बिशेष महत्वका साथ आयोजना गरिएको औद्योगिक व्यापार मेलामा कृषि, सेवा, हस्तकला, ईलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक्स, व्यूटि, गार्मेन्ट, जुत्ता, एफएमसिजी ९फूड एण्ड वेभरेज०, अटोमोवाईल्स र होटलको छुट्टा छुट्टै १० वटा पेभिलिन रहेकाछन् । त्यसैगरी दुवई फिस टनेल सहितको वालउद्यान रहेको छ । मेलामा औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिको प्रदर्शनी तथा विक्रि वितरण, विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रम सहित सांस्कृतिक सांगितिक कार्यक्रम भईरहेका छन् ।