बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको अध्यक्षमा चार जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
मंसिर २८ गते हुने महासंघको अध्यक्षका लागि नेपाल प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यानलबाट दिनेश पाण्डे, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, प्रगतिशिल र जनपत्रकार संगठनको संयुक्त प्यानलबाट विनोद परियारले उम्मेदवारी दिनुभएको छ । पाण्डे पत्रकार महासंघका पूर्व उपाध्यक्ष समेत हुन् भने परियार अहिले महासंघको सचिव हुन् ।
यस्तै अध्यक्षमा अमृता अनमोल (पाण्डेय) र हरिष ढकालले पनि उम्मेद्वारी दर्ता गराउनुभएको छ । ढकाल प्रेस युनियन रुपन्देहीका पूर्व अध्यक्ष तथा सल्लाहाकार हुन् भने अनमोल पत्रकार महासंघ रुपन्देहीको उपाध्यक्ष तथा प्रेस चौतारीको केन्द्रिय सदस्य हुन् ।
ढकाल र अनमोलले आफ्नो संगठनको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गराउनुभएको हो । महासंघको पदाधिकारी र कार्यसमिति सदस्यमा पनि बिधानमा ब्यवस्था भएभन्दा बढि उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । उपाध्यक्ष खुलामा २ र महिला उपाध्यक्षमा ३ जनाको उम्मेदवारी दर्ता भएको छ । यस्तै सचिवमा ३, खुला सहसचिवमा ३, समावेसी सहसचिवमा ३ र कोषाध्यक्षमा ३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ । यस्तै कार्यसमिति सदस्य र केन्द्रीय परिषद सदस्यमा आवशयक भन्दा बढि उम्मेदवारी दर्ता भएको छ भने प्रदेश परिषद सदस्यमा आवश्यक संख्याभन्दा कम उम्मेदवारी परेकाले सबै निर्विरोध निर्वाचित भएका निर्वाचन समितले जानएको छ । पत्रकार महासंघ रुपन्देही शाखामा २५८ जना सदस्यहरु रहेका छन् ।


