बुटवल । सरकारले तोकेको ढुवानी भाडा प्राप्त गर्नका लागि ओभरलोड र भारतीय गाडीहरुको भन्सार बिन्दुमै पल्टी हुनुपर्ने माग यातायात व्यवसायी ले गरेका छन् । भारतीय गाडीहरुले निर्वाद रुपमा ओभरलोड बोक्दा नेपाली सडक, पुलपुलेसा र नेपाली ट्रक व्यवसायी आफ्नो पेशाबाट विस्थापित हुदै गएको उनीहरुको गुनासो छ ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको शनिबार सम्पन्न २४ औं वार्षिक साधारण सभामा बोल्ने व्यवसायीका अगुवाहरुले कानुन बिपरित ओभरलोड बोक्न नपाइने भएपनि सोको नियमन नहुदा व्यवसायी मारमा परेको बताए ।
कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले मालवाहक सवारी साधनको भारवाहन नियमन सम्बन्धि निर्देशिका २०७४ तथा ओभरलोड सम्वन्धी प्रचलित कानुन अनुसार क्षमता भन्दा बढी भार बोक्नेलाई भन्सार बिन्दुमै पल्टी गराउनुको अर्को कुनै विकल्प नभएको बताउनु भयो ।
यातायात व्यवसायीमुखि नीति नहुंदा व्यवसायीले वर्षौदेखि समस्या भोग्दै आउनु परेको उल्लेख गर्दै यातायात व्यवसायी विस्थापित हुंदापनि सरकारले न्यायदिन नसकेको गुनासो उहांले गर्नु भयो । ओभरलोड बोक्नु कानुन विपरित भएको बताउंदै उहांले ओभरलोड बोक्ने गाडीलाई अब सडकमै सामान झारेर कारवाही गर्नुपर्ने र त्यसका लागि महासंघ प्रतिवद्व भएर लागि परेको बताउनुभयो ।
दुर्घटनाको एउटा कारण ओभरलोड भएकाले दुर्घटना न्यूनीकरण गर्नका लागि चालकहरुलाई तालिम दिने र ट्राफिक प्रहरीसंग समन्वय, सहकार्य गर्ने उहांले बताउनु भयो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा ट्रक तथा यातायात व्यवसायीलाई पार्किङको समस्या भएको बताउंदै जग्गाको खोजी गरेर पार्किङलाई व्यवस्थित गराउन सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नु भयो ।
बुटवल उपमहानगरपालिका व्यवसायीको पक्षमा रहेको बताउंदै उहांले कोहीपनि व्यवसायी आफ्नो पेशाबाट विस्थापित नहुने गरी कार्यक्रम ल्याउन प्रमुख पाण्डेयले आग्रह गर्नुभयो ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका अध्यक्ष टिकाराम गौतमले व्यवसायीको हित र संस्थाको संस्थागत विकासका लागि काम भैरहेको बताउनु भयो ।
कार्यक्रममा नेपाल ट्रक यातायातव्यवसायी महासंघका महासचिव राजेन्द्र विक्रम बानिया, पश्चिमाञ्चल यातायात व्यवसायी समितिका पूर्व अध्यक्ष रामेश्वर प्रसाद श्रेष्ठ, माओवादीका निमानन्द गैरे, समाजवादी पार्टीका केन्द्रिय सदस्य पंकज राई, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, ढुवानी व्यवसायी समिति बुटवलका अध्यक्ष जितबहादुर भाट, गण्डकी यातायात व्यवसायी समिति पोखराका अध्यक्ष सुरेन्द्र त्रिपाठी, सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण बेल्वासे लगायतले बोल्दै सरकारले यातायात व्यवसायीका समस्या सम्बोधन गर्न नसकेको गुनासो गर्नु भयो ।
साधारण सभाले महासचिव खिमबहादुर थापाद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन र कोषाध्यक्ष शंकर प्रसाद लम्सालद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन छलफल सहित पारित गरेको छ । वरिष्ठ उपाध्यक्ष कमल घिमिरेको स्वागत र प्रकाश गैरेको सञ्चालनमा भएको साधारण सभामा समितिमा विगत२४ वर्ष देखि काम गरेर विदा भएका कार्यालय प्रमुख बाबुराम अधिकारी, उत्कृष्ट कार्य गर्ने कर्मचारी र व्यवसायीलाई सम्मान गरिएको थियो ।