बुटवल । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानले आगामी मंसिर १ गते लुम्बिनीको पर्सा चोकमा जागरण सभाको आयोजना गरेको छ । सो जागरण सभामा २० हजार बढी जनसहभागिता जुटाउने तयारी नागरिक बचाउ महाअभियानले गरेको छ ।
नागरिक बचाउ महाअभियानको लुम्बिनी अञ्चल समितिले आज बुटवलका पत्रकार सम्मेलन आयोजना गरी जागरण सभाको तयारी बारे जानकारी गराएको हो । अभियानका केन्द्रिय संयोजक दुर्गा प्रसाईंले सम्बोधन गर्ने सभामा २० हजार बढीको जनसहभागिता जुटाउने गरी तयारी भैरहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
पत्रकार सम्मेलनमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, नेपालका केन्द्रीय सचिव माधव कल्पितले लुम्बिनीमा हुने ५९ औं नागरिक जागरण सभा अभियानको ५९ औ जागरण सभा ऐतिहासिक हुने विश्वास ब्यक्त गर्नुभयो ।
४२ लाख जना अभियानमा जोडिएको जानकारी गराउदै सचिव कल्पितले देशको समग्र विकास तथा उत्पिडित जनताको उत्थानका लागि चालिएको कदम भएकोले अभियानमा जोडिने क्रम जारी रहेको बताउनुभयो ।
अभियानका केन्द्रीय सदस्य तथा लुम्बिनी अञ्चल अध्यक्ष प्रेम थापाले सभामा देशमा भइरहेका भ्रष्टाचार, अनियमितताका साथै लुम्बिनी विकास कोष भित्रको अनियमितताको भण्डाफोर गरिने बताउनुभयो ।
साबिक लुम्बिनी अञ्चलका ६ जिल्लामध्ये रूपन्देही, कपिलवस्तु र नवलपरासीबाट ५÷५ हजार र अन्य जिल्लाहरूबाट ५ हजार गरी २० हजार बढीको सहभागिता जुटाउने गरी तयारी भएको जानकारी गराउदै अध्यक्ष थापाले आमसभामा बैंक तथा वित्तीय संस्थाहरूको ज्यादतीको बारेमा पनि भण्डाफोर गरिने बताउनुभयो ।
अभियानका लुम्बिनी अञ्चल प्रचारप्रसार संयोजक दिनेश भण्डारीले कुनै रानीतिक दलप्रति लक्षित नभएर अभियानमार्फत दल भित्र रहेका गलत प्रबृत्तिको मात्र बिरोध गरिएको धारणा राख्नुभयो । भ्रष्टाचारीलाई नङ्ग्याउन आमसभा राखिएको भन्दै उहांले दलको घुम्टो उतारेर आए अभियानमा सबैलाई स्वागत गरिने बताउनुभयो ।
पत्रकार सम्मेलनमा अभियानका लुम्बिनी अञ्चल प्रवक्ता तथा रूपन्देही जिल्ला अध्यक्ष शंकर कोइराला, अञ्चल महिला बिभाग प्रमुख बिष्णु बोहोरालगायतले कार्यक्रमको तयारी र आगामी योजना बारे जानकारी गराउनुभएको थियो ।