बुटवल । कर्मचारी बहुउद्देश्यीय सहकारी संस्थाको सातौं साधारण सभा शनिबार बुटवलमा सम्पन्न भएको छ ।
साधारण सभामा बोल्दै जिल्ला समन्वय समितिका संयोजक उमाकान्त चपाईले सहकारी राज्यको अर्थतन्त्रको मेरुदण्डको रुपमा लिईएपनि धेरै सहकारीमा वचत अपचलनको समाचारले सहकारीका शेयर सदस्यहरुमा मात्रै नभएर सहकारी अभियन्तालाई समेत निराश बनाएको बताउनु भयो । उहाँले कर्मचारीहरुले सञ्चालन गरेको यो सहकारी उत्कृष्ट बनाउने र सहकारी प्रति आशाकाे दीयाे बल्नेगरी काम गर्न सुझाव दिनुभयो ।
त्यसैगरी नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष उत्तम कटुवालले नेपाल निजामती कर्मचारी युनियन र सहकारीलाई टाईअप गरेर अगाडि बढाउन सुझाव दिनुभयो । उहाँले रुपन्देहीमा सहकारी सञ्चालन गरेर राम्रो काम भएको बताउँदै यो सहकारी कर्मचारीको दुःखमा सहकार्यको सारथी बन्नुपर्ने भनाई राख्नुभयो ।
साधारण सभामा सहकारी संस्थाका अध्यक्ष ईश्वरीप्रसाद आचार्यले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले लिएको लक्ष्य र उद्देश्य अनुसारका कामहरु भईरहेको बताउँदै सदस्य बृद्धिका लागि नेपाल निजामती कर्मचारी युनियनले पनि पहल गरिदिन आग्रह गर्नुभयो ।
साधारण सभामा संस्थाका अध्यक्ष आचार्यले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष दुर्गालाल घिमिरेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक युवराज पौडेलले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन पारित भएको सचिव रञ्जु ज्ञवालीले जानकारी गराउनु भयो ।
साधारण सभामा नेपाल निजामति कर्मचारी युनियनका केन्द्रीय उपमहासचिव इन्दु शर्मा, केन्द्रीय सचिव प्रकाश भट्टराई, केन्द्रीय सदस्यहरु हरिप्रसाद ज्ञवाली, नविन पन्थी, दिपेन्द्र गिरी, रामचन्द्र ढकाल, सिविएका रुपन्देही जिल्ला उपाध्यक्ष भोजराज न्यौपाने, नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीका अध्यक्ष चक्रपाणी पाण्डे, पाल्पाका अध्यक्ष रवि अर्याल, कपिलबस्तुका अध्यक्ष ढकबहादुर आले, नवलपरासीका अध्यक्ष सनककुमार गिरी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।