भैरहवा । सहकारी ठगी तथा संगठित अपराध मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज तेस्रोपटक बयानका लागि भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालय लगिएको छ ।
बिहीबार बिहान प्रहरीको कडा सुरक्षाबीच रविलाई सरकारी वकिल कार्यालय लगिएको हो । मंगलबारदेखि रविको सरकारी वकिल कार्यालय रुपन्देहीमा बयान भइरहेको छ । आज तेस्रो दिन पनि रविको बयान हुने जिल्ला सरकारी वकिलको कार्यलयले जनाएको छ । मंगलबार र बुधबार बयान नसकिएपछि लामिछानेलाई दुई दिनसम्म जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा राखिएको थियो । आज बयान सक्ने योजना रहेको प्रहरीले जनाएको छ ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि लामिछानेलाई कास्कीबाट प्रहरीले मंगलबार रुपन्देही ल्याएको थियो ।
बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । सोही आधारमा अनुसन्धान अघि बढेको हो ।
