तिलोत्तमा । रुपन्देहीको मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयले विद्यालयकी शिक्षिका स्वर्गीय सिर्जना पौडेलको परिवारलाई आर्थिक सहयोग गरेको छ । यही साउन १७ गते सुत्केरी अवस्थामा ३५ बर्षीय शिक्षिका पौडेलको उपचारको क्रममा मृत्यु भएको थियो ।
विद्यालयले स्वर्गीय पौडेलको परिवारलाई राहत पु¥याउने उद्देश्यले आर्थिक सहयोग गरेको हो । विद्यालयमा कार्यरत शिक्षक कर्मचारीबाट उठेको २ लाख ३५ हजार ४ सय ४० रुपैयाँ तथा विद्यार्थीहरुबाट संकलित १ लाख ३३ हजार गरी कुल ३ लाख ६८ हजार ४ सय ४० रुपैयाँ सहयोग स्वरुप पौडेको परिवारलाई प्रदान गरेको हो ।
स्वर्गीय सिर्जना पौडेलका दुई छोरीको नाममा बैंकमा खाता खोली राख्ने गरी रकम हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले बताउनुभयो । त्यस्तै मृतक पौडेलको काज किरिया खर्चका लागि विद्यालयको शिक्षक कर्मचारी कल्याण कोषबाट रु. ५० हजार मृतक पौडेलका श्रीमान् युवराज बेल्वासेलाई विद्यालयका प्रधानाध्यापक लामिछानेले हस्तान्तरण गर्नुभयो । यस्तै विद्यालय ब्यवस्थापन समितिले स्वर्गीय पौडेलका दुई छोरीलाई कक्षा १२ सम्म निःशुल्क अध्यापन गराउने निर्णय गरेको छ ।
यसैबिच, आदर्श बचत तथा ऋण सहकारी संस्थाले पनि संस्थाका शेयर सदस्य स्वर्गीय सिर्जना पौडेलको परिवारलाई किरिया खर्च बापत १५ हजार रुपैयाँ प्रदान गरेको छ । मृतकका परिवारलाई सहयोग पुगोस् भनेर सहकारीको नियामानुसार रकम प्रदान गरिएको सहकारीका सचिव कैलाश गौतमले बताउनुभयो ।
रकम हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक कर्मचारी लगायतको सहभागिता थियो ।