काठमाडौं । सेन्ट्रल एशियन भलिवल एशोसिएसन (काभा) वुमन्स नेशन्स भलिबल लिगको उपाधि भारतले जितेको छ । पाँचौ सेट १५–५ ले जितेर भारत काभा च्याम्पियन बनेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद् (राखेप) कभर्डहलमा भएको प्रतिस्पर्धात्मक फाइनलमा भारतले ३–२ सेटमा नेपाललाई पराजित गर्दै उपाधि जितेको हो ।
२–१ सेटले अगाडि रहेको नेपाल भारतलाई फाइनलमा पराजित गर्नबाट चुकेको छ । लिग चरणको खेलमा भने नेपालले भारतलाई ३–२ सेटमा पराजित गरेको थियो ।
नेपालले पहिलो सेट २५–२३ ले जितेको थियो । भारतले अग्रता लिएको पहिलो सेटमा अन्त्यतिर २०–२३ ले पछि परेको अवस्थामा नेपालले लगातार ५ अंक जोड्दै सेटमा आफ्नो कब्जा जमायो ।
दोस्रो सेट भने भारतले कमब्याक गर्दै २५–१४ को फराकिलो अन्तरले जित्यो । प्रतिस्पर्धात्मक तेस्रो सेट भने नेपालले २५–२२ ले जितेर २–१ को अग्रता लिएको थियो । फेरि प्रतिस्पर्धात्मक चौथो सेट २५–२१ बाट भारतले जितेर खेल २–२ को बराबरीमा ल्यायो ।
