काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ ।
अनुशासन समितिले उनलाई साधारण सदस्य समेत नरहने गरी कारवाहीका लागि सिफारिस गरेपछि यसबारे निर्णय गर्न रास्वपा केन्द्रीय समितिको बैठक अहिले बसिरहेको छ ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी बैठकमा निलम्बित महामन्त्री मुकुल ढकालमाथि कारवाहीका लागि अनुशासन आयोगको प्रतिवेदनमाथि छलफल भइरहेको छ ।
आयोगले ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ । यो प्रतिवेदनमा छलफल सकेर आजै निर्णय लिइनेछ ।
असार २० गते बुधबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई सात दिनका लागि महामन्त्री र प्रवक्तबाट निलम्बन गर्ने निर्णय गरेको थियो । जसअनुसार थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो ।
आफुलाई निलम्बन गरेपछि ढकालले भने आफुलाई स्पष्टीकरणको समेत अवसर नदिएर कारवाही गरेको गुनासो गर्नुभएको थियो ।
