तिलोत्तमा । लुम्विनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले शंकरनगर सामुदायिक वन यस क्षेत्रको गहना भएकाले सबै मिलेर यसको विकास र संवद्र्धन गर्नुपर्ने बताउनु भएको छ । उहांले सामुदायिक वनको दीगो ब्यवस्थापन गरी गरिवी घटाउन र लाभान्वित समुदायको जीविकोपार्जनको स्रोत वनाउन वनको ब्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
शंकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा १–४ रुपन्देहीले गरिवी न्युनिकरण, महिला सशक्तिकरण तथा उद्यम विकास कार्यक्रम अन्तर्गत आयोजना गरेको क्षमता अभिबृद्धि सम्बन्धि २ दिने तालिमको शुक्रबार उद्घाटन गर्दै पूर्व मुख्यमन्त्री गिरीले कानुनको अज्ञानता क्षम नहुने र कानुनको जानकारीका अभावले धेरै मानिसले दुःख पाइरहेको परिवेशमा सामुदायिक वनले आयोजना गरेको यो तालिम आफैमा महत्वपुर्ण रहेको बताउनु भयो ।
पछिल्लो पटक मुलुकमा विकासित राजनीतिक घटनाक्रमको प्रसंंग उल्लेख गर्दै पूर्व मुख्यमन्त्री गिरीले विगतमा नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्यले धेरै राम्रो परिणाम ल्याएकोले यो सहकार्य २०८४ को चुनाव सम्म जान सके मुलुकले सही गति लिने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले सामुदायिक वनलाई समुदायको विकास र समग्र देशको आर्थिक स्रोतका रुपमा विकास गर्नुपर्ने बताउनु भयो । सबैको सहकार्यबाट मात्र संमृद्धि सम्भव भएकाले वनलाई आर्थिक विकास, आयमुलक कार्यक्रम गर्दै वनको माध्यमबाट युवा तथा महिलाहरुलाई स्वरोजगारसंग जोडेर विदेशिने युवाहरुलाई स्वदेशमै रोक्न सकिने बताउनु भयो । उहांले सामाजिक विकासका काममा सबै एकजुट भई जनप्रतिनिधिहरु प्नि साझारुपले अगाडी बढ्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

सामुदायिक वनका अध्यक्ष रविन्द्र बस्नेतले सामुदायिक वनले वार्षिक कार्ययोजना अनुसार दुई दिवसीय क्षमता अभिबृद्धि कार्यक्रम आयोजना गरिएको र वनले वनका उपभोक्ताहरुको क्षमता, ब्यक्तित्व र नेतृत्व विकास संगै गरिवी न्युनिकरण तथा महिला सशक्तिकरणका क्षेत्रमा काम गर्दै आईरहेको बताउनु भयो ।
कार्यक्रममा सामुदायिक वनका सल्लाहकार मोहन चापागाई, एमाले तिलोत्तमा नगर अध्यक्ष तामनाथ पाण्डे, तिलोत्तमा १ का अध्यक्ष फर्सुराम गिरी, सामुदायिक वनका सचिव कालिका अधिकारी, कोषाध्यक्ष भुवन आचार्यलगायतले वोल्दै तालिममा सिकेका कुराहरुलाई ब्यवहारिक जीवनमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

दुई दिने तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई दुई समूहमा विभाजन गरी महिला विरुद्धको हिंसा, महिला शसक्तिकरण र लैंगिक न्याय, बैकिङ कसुर, कानुनी ब्यवस्था र अदालती दृष्टिकोण, मुलुकी देवानी संहिता र यसका विशेषता तथा विद्युतीय अपराध, कानुन, न्यायिक अभ्यास र अपराधका प्रकृतिलगायतका विषयमा न्यायाधीश पुण्यशिला दवाडी, न्यायाधीश इश्वर पराजुली, अधिवक्ता खुमकान्त पौडेल र तिलोत्तमा नगरपालिकाका शाखा अधिकृत सीता घिमिरेले सहजीकरण गर्नुहुने वनका कार्यसमिति सदस्य मिनप्रसाद देवकोटाले बताउनुभयो ।
तालिममा तिलोत्तमा १–४ का महिला र पुरुष गरी १०६ जना उपभोक्ताहरुको सहभागिता रहेको छ ।

