तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०८१\0८२ का लागि २ अर्ब ७६ करोड ६२ लाख रुपैयाँको बजेट ल्याएको छ ।
नगरपालिकाको दोस्रो नगरसभा तथा पाँचौँ अधिवेशनमा उपप्रमुख जगेश्वरदेवी चौधरीले २ अर्ब ७६ करोड ६२ लाख २२ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।
अधिकांश पुराना कार्यक्रमका लागि रकम विनियोजन गरिएको कूल वजेट मध्ये चालु खर्चतर्फ १ अर्ब २४ करोड ४३ लाख ७४ हजार (४५.०१) प्रतिशत र पुँजीगततर्फ १ अर्ब ५२ करोड १८ लाख ४८ हजार (५४.९९) प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।
चालु आर्थिक वर्षमा २ अर्ब ७३ करोड ८४ लाख ३९ हजारको बजेट थियो । वजेटको आम्दानीतर्फ ३२ करोड ६६ लाख २५ हजार आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य छ । त्यस्तै, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब ४३ करोड ९५ लाख ९७ हजार प्राप्त हुने लक्ष्य छ ।
शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकतामा राखिएको छ । वजेटमा बजेटमा स्वास्थ्यतर्फ सबै नागरिकको पहुँच सुनिश्चित रहोस् भन्ने उद्देश्यसहित वातानुकुलित खोप केन्द्र निर्माणका लागि ९ करोड ४५ लाख २२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
सामुदायिक विद्यालयमा बालविकास कक्षा व्यवस्थापन, यातायातका साधनमा अनुदान, नगरको समग्र शिक्षा प्रणाली सुधारका लागि ४५ करोड ६९ लाख ८५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
नमुना कृषक प्रवद्र्धन, कृषिको आधुनिकीकरण, धान खेतीमा हाँस पालन, किसानलाई दुग्ध उत्पादनका आधारमा अनुदान दिने व्यवस्थालाई शतप्रतिशत वृद्धि गरी कृषिमा २ करोड ३७ लाख ७९ हजार विनियोजन गरिएको छ ।
नगर क्षेत्र भित्रका भौतिक पूर्वाधार, सडक नाली तथा बहुउद्देश्यीय भवनको स्तरउन्नति तथा मंगलापुर कान्छिबजार सडक सम्पन्न गर्न ९८ करोड ७१ लाख बजेट बिनियोजन भएको छ ।
युवामैत्री स्थानीय शासन घोषणा, फुटबल, भलिवल तथा क्रिकेट कप आयोजना तथा खेलकुद पूर्वाधार निर्माणका लागि १ करोड ११ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।
सामाजिक सुरक्षा, सीप विकास, आय आर्जन, लैङ्गिक मैत्री नगरपालिका निर्माण, उद्यमशिल नगर, क्षमता विकास तथा सिप विकास तालिम लगायत कार्यक्रममा २ करोड ७९ लाख ७५ हजार बजेट विनियोजन भएको छ ।
नगर प्रमुख नवप्रवर्तन कार्यक्रम तथा नगर उपप्रमुख उद्यमशिलता विकास केन्द्रको प्रभावकारी सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । पालिकाले सडक सौन्दर्यीकरण तथा उज्यालो तिलोत्तमा बनाउन आवश्यक बजेट छुट्याएको छ ।