काठमाडौं । प्रहरी कार्यालयमा अनुसन्धानमा रहेका मुद्दा मिलाई दिने भन्दै प्रहरीका नाममा रकम ठगी गर्ने दुई जनालाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले पक्राउ गरेको छ ।
२०८० साउन २ गते प्रहरीले वरामद गरेको ६० के.जी. अवैध सुनको थप अनुसन्धानको क्रममा अवैध सुन खरिद विक्री वापत प्राप्त भएको रकम पेवेल नेपाल प्रा.लि.को विभिन्न खातामा जम्मा गरी सो रकम एजेन्ट मार्फत भुक्तानी लिन लगाई हिसाव किताव मिलान गरेको भन्ने सम्वन्धमा सिआइवीले अनुसन्धान गरिरहेको थियो ।
पक्राउ परेका दुई जनाले सो मुद्दाको अनुसन्धान प्रभावित पारेर मुद्दा मिलाई दिन्छु भनेर प्रहरी कर्मचारीको नाममा ८ लाख ५० हजार रकम ठगी गरेका थिए ।
प्रहरीले उनीहरुलाई २०८१ जेठ ३ गते पक्राउ गरी अपराधिक विश्वासघात ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ ।
पक्राउ पर्नेमा जिल्ला अर्घाखाँची साविक छत्रगन्ज गाविस वडा नं. १ हाल परिवर्तित छत्रदेव गाउँपालिका वडा नं. ५ घर भई हाल काठमाडौं ताकेश्वर नगरपालिका ५ गोलढुङ्गा वस्ने वर्ष ६३ को के.पी. शर्मा भन्ने कृष्ण प्रसाद शर्मा र जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नंं. १ को ४३ बर्षीय झविन्द्र खत्री रहेका छन् । उनीहरुको साथबाट ३ थान मोवाइल वरामद भएको प्रहरीले जनाएको छ ।