तिलोत्तमा । शंकरनगर सामुदायिक वन तिलोत्तमा १—४ रुपन्देहीले वार्षिक कार्ययोजना अनुसार पुनरउत्पादन क्षेत्र र थिनिङ क्षेत्रको अनुगमन गरेको छ । सामुदायिक वनका पदाधिकारी, सदस्य, स्थानीय उपभोक्ता, जनप्रतिनिधि, वन प्राविधिक तथा सञ्चारकर्मीहरुसहितको टोलीले वन संवद्र्धन प्रणाली अन्तर्गत सामुदायिक वनले गरेका माउ रुख तथा पोल साइजका रुख कटान गरेको क्षेत्रको अवलनोकन गरेको हो । शंकरनगर सामुदायिक वनको ५८४ .६० हेक्टर क्षेत्रफल मध्ये ११८.४२ हेक्टर क्षेत्रफल रुख खण्ड, ३५५.९९ हेक्टर पोल खण्ड र ११०.१९ हेक्टर बृक्षारोपण खण्डमा विभाजन गरी वन संवद्र्धन प्रणाली अन्तर्गत वन व्यवस्थापन कार्य गर्दै आएको छ । यसरी वर्गीकरण गरिएको वन क्षेत्रलाई विभिन्न १०-१० प्लटमा विभाजन गरी सामुदायीक बनले पुनरुत्पादन, पत्लाउने, झाडी सफाइ लगायतका कार्य गर्दै आइरहेको छ । रुख खण्डको १० प्लट मध्ये उपखण्ड ३ मा कटान गरिएका ठूला माउ रुख क्षेत्रको पुनरउत्पादन र पोल खण्डको प्लट नंं ७ र ८ मा पोल साइजका रुख कटान क्षेत्रको अवलोकन गरिएको सामुदायिक वनका कोषाध्यक्ष भुवन आचार्यले जानकारी दिनुभयो । यस्ता प्लटमा वन संवद्र्धन प्रणाली अन्तर्गत प्रत्येक १० वर्षको अन्तरालमा माउ रुख कटान तथा पोल साइजका रुख पत्लाउने कार्य गर्ने गरिने सचिव कालिका अधिकारीले जानाकारी गराउनु भयो ।
साल र सल्लो प्रजातिका बिरुवाका लागि प्रत्यक्ष घामको प्रकाश र माटोसंगको सम्पर्क आवश्यक पर्ने भएकाले वन संवद्र्धन प्रणाली अन्तर्गत वन व्यवस्थापनमा माउ रुख काट्ने र बिरुवा बाक्लो भएको ठाउमा बढी भएका पोल साइजका रुखहरु काटेर तथा झाडी सफाइ गरेर बिरुवा उत्पादनमा सघाउ पुराउने उद्देश्यले यो प्रणाली लागु गरिएकाले सोही अनुसार कार्ययोजना बनाई सामुदायिक वनले काम गर्दै आएको वनका अध्यक्ष रबिन्द्र बस्नेतले बताउनुभयो ।
वन संवद्र्धन प्रणाली अन्तर्गत शंकरनगर सामुदायिक वनमा भएको पुनरउत्पादन कटान तथा पत्लाउने क्षेत्रमा के कस्ता कामहरु भइरहेका छन् र आगामी दिनमा यस्ता कामलाई कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्देश्यले स्थानीय जनप्रतिनिधि, उपभोक्ता र सरोकारवाला निकायको सहभागितामा अध्ययन अवलोकन कार्य गरिएको तिलोत्तमा सव डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत सुर्यप्रसाद मैनालीले जानकारी दिनुभयो ।
सामुदायिक वनका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक कमला ज्ञवालीले सामुदायिक वनले वन संवद्र्धन प्रणाली अन्तर्गत रहेर वार्षिक कार्ययोजना अनुसारको कामको मुल्यांकनका लागि सबै पक्षलाई सहभागी बनाएर बन क्षेत्रको अवलोकन गरिएको बताउनुभयो ।