भैरहवा । ड्रिम युनिक रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगितामा न्यू होराइजन क्रिकेट क्लबले जित निकालेको छ । सोमबार भएको डिभिजन ‘ए’ को खेलमा नेपथ्य तिलोत्तमा क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्दै न्यू होराइजनले जित हात पारेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदान टस जितेर ब्याटिङ गरेको नेपथ्य तिलोत्तमाले ४९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ८९ रनको योगफल बनायो । उसका लागि कृष्ण कार्कीले ३८, स्वस्तिक पराजुली र विकल अधिकारीले १९–१९, सन्दिप यादव र रोशन घिमिरेले १३–१३, कृष्ण भुसालले १२ र अमन बोहराले ११ रन बनाए । बलिङमा न्यू होराइजनका निरज घिमिरेले ३, महेश भर र प्रिन्स पालले २–२ तथा सुमित पराजुलीले १ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको न्यू होराइजनले ३९ ओभर ३ बलमा ८ विकेटको नोक्सानीमा १ सय ९२ रन बनाउँदै जित निकाल्यो । उसको जितमा अमर मिश्राले ३६, सुमित पराजुलीले अविजित २९, राहुल भण्डारी २४, महेश भर २२, निश्चल ज्ञवाली १९, बाबुराम क्षेत्री र विपर्शन केसीले १६–१६ रनको योगदान गरे । बलिङमा नेपथ्य तिलोत्तमाका आशुतोष पाण्डे, कृष्ण भुसाल र सागर भण्डारीले समान २–२ विकेट लिँदा लक्ष्मण कुमालले १ विकेट लिए । खेलमा न्यू होराइजनका निरज घिमिरे प्लेयर अफ द म्याच भए ।
रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रा.लि., बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदियमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । प्रतियोगिता आगामी वैशाख ५ गतेसम्म सञ्चालन हुने संघका सदस्य समेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले बताए ।
