भैरहवा । उद्योगी–व्यवसायीले रुपन्देही र चिवतन लगानी र पर्यटनका हिसावले मुलुककै अग्रणी जिल्ला भएको बताएका छन् । उनीहरुले लुम्बिनी र सौराहा त पर्यटनका लागि सम्भावनै सम्भाना बोकेको क्षेत्र भएको जनाए । यी दुबै ठाउँलाई जोडेर पर्यटकीय विकास गरे दुबै जिल्लाले आर्थिकरुपमा अझै फड्को मार्ने दावी व्यवसायीको छ ।
सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देही र उद्योग बाणिज्य संघ, चितवन तथा सिद्धार्थ र रत्ननगर उद्योग बाणिज्य संघ, चितवनबीच भएको छुट्टाछुट्टै छलफल एवं अन्तक्र्रियामा बोल्दै व्यवसायीले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग र व्यापार सबै क्षेत्रमा सरकारबाट आवश्यक सहयोग भए दुई जिल्लाले मुलुककै नेतृत्व गर्न सक्ने दावी गरे ।
सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले रुपन्देहीमा पछिल्लो दशकमा लुम्बिनीलाई केन्द्रमा राखेर लगानी भइरहेको जनाउँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा संचालन हुँदा मुलुकले नै आर्थिक क्षेत्रमा थप फड्को मार्न सक्ने उल्लेख गर्नुभयो । ‘विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रबाट अर्बौं लगानी भएको छ, सरकारले विमानस्थल मात्रै पूर्ण क्षमतामा चलाउने हो भने लगानीको अझै ओइरो नै लाग्छ’, उहांले भन्नुभयो–‘विडम्बना तर सरकारले हाम्रा कुराको सुनुवाई नै गरेको छैन ।’ उहांले बौद्धिष्ट मुलुकका पर्यटक सिधै लुम्बिनी आउन चाहने तर विमानस्थल नचल्दा उनीहरुको गन्तव्य चाहे जसरी लुम्बिनी हुन नसकेको जनाउनुभयो ।
विमानस्थल मात्रै पूर्ण क्षमतामा चल्ने हो भने सबैभन्दा बढी पर्यटक रुपन्देही र चितवन आउने उहांको दावी छ । अध्यक्ष श्रेष्ठले लुम्बिनी आउने पर्यटकलाई चितवन र चितवनमा आउने पर्यटकलाई लुम्बिनीसहित प्रदेशका अन्य पर्यटकीय स्थलमा पुग्ने वातावरण सिर्जना गर्न दुबैं जिल्लाका उद्योग बाणिज्य संघले विशेष पहल कदमी गर्नुपर्नेमा जोड दिदै बुटवल–नारायणगढ सडक बनेमा यस्तो वातावरण सिर्जना हुन सक्ने उहांले बताउनुभयो ।
उहांले चितवनका उद्योगी व्यवसायीलाई भैरहवा, लुम्बिनी, तिलोत्तमा, बुटवल लगायतका ठाउँमा लगानी गर्न आह्वान गर्नुभयो । ‘उद्योग, व्यापार, पर्यटन, कृषि जुनसुकै क्षेत्रमा लगानी गरे पनि रुपन्देहीमा गरेको लगानी खेर जाँदैन’, उहांले भन्नुभयो–‘त्यसैले चितवनका तपाईं सबै उद्योगी व्यवसायीलाई मैले रुपन्देहीमा लगानी गर्न आह्वान गर्छु, हामी पनि उताका व्यापारीलाई यता लगानीका लागि प्रोत्साहन गर्छौं ।’
उद्योग बाणिज्य संघ, चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले तराई–पहाडको संगम भएको जिल्ला भएकाले यहाँ हरेक क्षेत्रमा सम्भावना भएको उल्लेख गर्नुभयो । ‘पहाडको डाँडामा होटल खोल्दा उस्तै चल्छ, समथर भूभागमा कृषि क्षेत्रमा लगानी गर्दा उस्तै मुनाफा हुन्छ’, उहांले भन्नुभयो–‘चितवन लगानीका लागि सबै हिसावले उत्कृष्ट छ ।’ पछिल्लो पटक भरतपुर महानगरपालिकाले ‘घुमौं भरतपुर’ भनेर पर्यटन वर्ष मनाइरहेकाले रुपन्देहीसहित मुलुकभरका नागरिकलाई चितवन आउन आग्रह गर्नुभयो । ‘यहाँ आएर नारायणीमा डुंगा सयर गर्न सकिन्छ भने सौराहा पुगेर जंगल सफारी गर्न सकिन्छ’, उहांले भन्नुभयो–‘यस्ता दर्जनौं गनत्व्य चिवतनमा छन्, पर्यटक यहाँ आएर हप्ता दिनसम्म पनि रमाउने वातावरण छ ।’
उहांले चितवन शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र उद्योग ब्यापारमा सम्भावना बोकेको जिल्ला रहेको उल्लेख गर्नुभयो । ‘पोल्ट्रीको त राजधानी नै हो, केरा खेती उस्तै हुन्छ’, उहांले भन्नुभयो–‘त्यसैले रुपन्देहीसहित मुलुकका सबै लगानीकर्ताले यहाँ गरेको लगानी खेर जाँदैन । भैरहवा–लुम्बिनी–बुटवल आउने पर्यटकलाई चितवन र चितवन आउने पर्यटकलाई लुम्बिनी भ्रमणका लागि प्रोत्साहनसहितका प्याकेज कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुभयो ।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य भीष्मप्रसाद न्यौपानेले सरकारको नीजि क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुने हो भने चितवन र लुम्बिनी क्षेत्रमा लगानी अझै बृद्धि हुने बताउनुभयो । ‘लगानीका लागि मुलुकमै यी जिल्ला अग्रभागमा आउँछन्’, उहांले भन्नुभयो–‘सरकारले त्यो किसिमको वातावरण गराउन सक्नुपर्छ, उद्योगी–व्यवसायी मैले गरेको लगानी खेर जाँदैन भनेर ढुक्क हुन सक्नुपर्छ ।’
रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरीले सौराहालाई केन्द्रमा राखेर आफूहरुले व्यसायिक प्रबद्र्धनका काम गरिरहेको जनाउनुभयो । उहांले सौराहा स्वदेशी तथा विदेशी पर्यटकको रोजाईमा पर्ने महत्वपूर्ण गन्तव्य भएकाले लुम्बिनी आउने पर्यटकलाई यहाँ पठाउन आग्रह गर्नुभयो । ‘हामीले पनि यहाँ आउने पर्यटकलाई लुम्बिनीसहित मुलुकका पर्यटकीय स्थलमा पठाउन प्याकेजसहितका कार्यक्रम ल्याउँछौं, तपाईंहरुले पनि त्यस किसिमको वातावरण बनाउनुस् ।’
संघका पूर्वअध्यक्ष ज्ञानबहादुर बिसुरालले पर्यटन, कृषि र बालबालिकाका अधिकारलाई प्राथमिकता दिएर आफूहरुले काम गरिरहेको बताउनु भयो । उहांले नारायणगढ–बुटवल सडककै कारण पर्यटकले सास्ती खेपेको सुनाउँदै सबैले दवाव दिएर समयमै सडक निर्माणको काम सक्न पहल गर्नुपर्ने उल्लेखगर्नुभयो ।
व्यवसायी श्रीकृष्ण लम्साल, कमलप्रसाद मरासिनी, मंगल भण्डारी, प्रमोद रिजाल, पल्लवी न्यौपाने लगायतले बोल्दै चितवन र रुपन्देही दुवै जिल्ला उद्योग, व्यापार, पर्यटन र कृषिका लागि मुटु भएको भन्दै यी जिल्लामा रहेका उद्योग बाणिज्य संघहरुले सहकार्य गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
छलफल तथा अन्तरक्रियामा सहभागी उद्योगी–व्यवसायीले यस्ता कार्यक्रमले लगानीको वातावरण बन्ने, साझा समस्या समाधानका लागि साझा धारणा बन्ने र सरकारलाई समस्या हल गर्न दवाव दिन सकिने बताएका थिए । एकअर्काबीचको अनुभव साटासाटले आगाी दिनमा हुने लगानीका क्षेत्रको पहिचानमा पनि टेवा पुग्ने विश्वास सहभागीहरुको थियो ।
बुद्ध जन्मस्थल लुम्बिनीसहित रुपन्देहीका पर्यटकीय स्थलहरुको प्रचारप्रसार, प्रवद्र्धन र सहकर्मी उद्योग बाणिज्य संघहरुको अवलोकन तथा अनुभव साटासाट गर्ने उद्देश्यले सिद्धार्थ उद्योग बाणिज्य संघको टोली पूर्वी नेपालको भ्रमणमा छ । संघका अध्यक्ष श्रेष्ठको नेतृत्वमा रहेको २७ सदस्यीय टोलील बिरगंज उद्योग बाणिज्य संघ, जनकपुर उद्योग बाणिज्य संघ, मोरङ उद्योग संघ, धरान उद्योग बाणिज्य संघ र धनकुटा उद्योग बाणिज्य संघको अवलोकन गरि व्यवसायिक अनुभव आदानप्रदान गर्ने छ ।