बुटवल । पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.को दोश्रो अधिवेशनबाट निर्वाचित संचालकहरुको जिम्मेवारी बांडफाँड गरिएको छ ।
निर्वाचित सञ्चालकहरुले शुक्रबार सपथग्रहण र पदभार ग्रहण गरे सँगै बसेको पहिलो बैठकले अध्यक्षमा दधिराम खरेललाई चयन गरेको छ ।
यसैगरि प्रबन्ध संचालकमा रामचन्द्र भुसाल र कोषाध्यक्षमा मोहन पि.एस.लाई चयन गरिएको अध्यक्ष खरेलले जानकारी गराउनु भयो । यस्तै बैठकले समितिको दुर्घटना न्यूनिकरण तथा सवारी व्यवस्थापन प्रमुखमा नारायण प्रसाद घिमिरे, व्यवसायी संरक्षण कोष प्रमुखमा गोपाल बहादुर पौडेल, कल्याणकारी विभाग प्रमुखमा जिवनकुमार बन्जाडे, क्यु बिभाग प्रमुखमा चेतनारायण बेलबासेलाई चयन गरेको छ ।
अधिवेशनबाट तत्कालिन अध्यक्ष दधिराम खरेल नेतृत्वको प्यानल बिजयी भएको थियो । प्रा.लि.को बिधान अनुसार कुल १३ सदस्यीय संचालक समितिमा २ जना सदस्य संचलक समितिले मनोनित गर्ने प्रावधान रहेको छ ।
प्रा.लि.का नवनिर्वाचित संचालकहरुको सपथग्रहण र पदस्थापन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले समृद्ध शहर निर्माणमा यातायात ब्यबसायीहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । यातायात क्षेत्रका समस्या समाधान गर्न आफु सदैव तत्पर रहेको उल्लेख गर्दै नगरप्रमुख पाण्डेले समस्या समाधानका लागि स्थानीय सरकार यातायात व्यवसायीहरुसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
प्रालिका अध्यक्ष दधिराम खरेलले यातायात व्यवसायीहरुले आफ्नो हकहित संरक्षणका साथै सामाजिक बिकासमा पुराएको योगदानको चर्चा गर्दै सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यमा तिनै तहका सरकारसँग सहकार्य गरेर अघि बढ्न सकिने धारणा ब्यक्त गर्नुभयो । मुलुकको समग्र बिकासमा यातायात ब्यबसायी र मजदुरहरुको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै यातायात क्षेत्रको पुर्वाधार बिकासमा समन्वय र सहकार्य आवश्यक रहेकोमा उहांले जोड दिनुभयो ।