कपिलवस्तु। सुन तस्करीमा संलग्न भएको भनिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ । महरालाई प्रहरीले सोमबार बिहान कपिलवस्तुको पकडीबाट पक्राउ गरेको हो । पूर्वसभामुख समेत रहेका महरा राेल्पा जाँदै गरेकाे अवस्थामा पक्राउ पर्नुभएको हो । प्रहरी स्रोतअनुसार ‘उहाँलाई प्रहरीले निगरानीमा राखेकाे थियाे, आज पक्राउ गरिएको छ, भर्खरै काठमाडौं पठाइएको छ ।
इलेक्ट्रोनिक चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोप महरामाथि छ। ६० किलो सुन तस्करी र ९ किलो सुन तस्करीको छानबिनका लागि बनेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० ले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो।
जाँचबुझ आयोगले गत बिहीबार बुझाएको प्रतिवेदन नेपाल प्रहरी हुँदै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा पुगेको छ। यसअघि सिआइबीले महरालाई ९ किलो सुन प्रकरणमा बयान कागजमात्रै गराएर छाडेको थियो। महराका छोरा राहुल महरा भने यस अघिनै पक्राउ परी पुर्पक्षका लागि थुनामा छन्।
महराको चिनियाँ तस्कर दाओजिन वाङसँग पटकपटक कुराकानी भएको सिआइबीकै अनुसन्धानमा देखिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बरामद गरेको ९ किलो सुन भएको भेप बरामद गरेपछि महरा बाबु-छोराले पटकपटक भन्सार कार्यालय प्रमुखलाई सम्पर्क गरी छुटाउन दबाब दिएका थिए।
प्रहरी स्रोतअनुसार पक्राउपर्नु अघि सुन तस्करीमा संलग्न भएको भनिएका माओवादीका उपाध्यक्ष महरा कपिलवस्तुको मायादेवी १ पकडी स्थित वकिल मुसलमानको घरमा बिहानको खाना खाने तयारीमा रहनु भएको थियो ।
`महराले साबुन पानीले हात धोएर खाना खाने बेला महरालाइ प्रहरीले पछ्याइरहेको सूचना पुग्यो । अनि उहा भात नै नखाई बाग्मती ०१०२७ च १९९३ नम्बरको रातो प्राडो गाडीमा चढेर अलिगढवा नाकातिर हुइँकिनुभयो ।’ स्रोतले भन्यो ।
पकडी प्रहरी चौकीको ब्यारियर छलेर अगाडि महारा चढेको गाडी केही पर पुगेपछि प्रहरीले उहालाई घेरा हालेर पक्राउ गरेको थियो । कपिलवस्तुको अमरगढवा नाका हुँदै भारत भाग्ने योजनाका साथ कपिलवस्तु पुगेका महरालाइ अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको कार्यालयमा राखिएको छ ।