बुटवल । नेकपा एमाले लुम्बिनीले निष्क्रिय सदस्यलाई क्रियाशील र जवाफदेही बनाउन प्रदेशमा रहेका पार्टी सदस्यको परीक्षा लिने भएको छ । प्रदेशमा रहेका ८६ हजार २ सय ६० जना पार्टी सदस्यहरूलाई नीतिगत तथा अन्य जानकारी दिलाउने उद्देश्यले यस प्रकारको परीक्षा लिन थालिएको एमालेले जनाएको छ ।
यही चैत ५ गते हुने यस्तो खालको परीक्षामा सदस्यको क्षमता अनुसारको प्रश्न तयारी गरिएको र यो परीक्षामा पहिलो पटक अनुत्तिर्णलाई पुनः अवसर दिइने छ ।
एमाले सचिवालय तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालका अनुसार यस्तो खालको परीक्षामा पटक पटक असफल भए त्यस्ता सदस्यलाई पार्टीबाट बिदा गरिने रणनीति बनाइएको छ । प्रदेश कमिटीले प्रदेशभित्र रहेका १२ वटै जिल्लाका पार्टी सदस्यहरूको चैत ५ गते वडा कमिटीमा परीक्षा लिइने र परीक्षामा लुम्बिनी प्रदेशका ८६ हजार २ सय ६० जना नेता कार्यकर्ताहरू सहभागी हुने ईन्चार्ज अर्यालले जानकारी गराउनु भयो ।
परीक्षाको नतिजाबाट पार्टीका कार्यकर्ताहरूको स्तर निर्धारण हुने र त्यसैअनुसार पार्टीभित्र जिम्मेवारी दिइने नीति बनाइएक। अर्यालले भन्नुभयो–‘परीक्षाले कसलाई कुन तहको जिम्मेवारी दिने भन्ने जानकारी हुनेछ, हामीले लुम्बिनी प्रदेशबाट एउटा नौलो अभ्यास गर्दैछौं ।’
पार्टीलाई सांगठिनकरूपमा बलियो बनाउनका लागि बेलाबेला सदस्यहरूको परीक्षा लिने कामले हरेक पक्षमा सुधार हुने र परीक्षामा कमजोर हुने पार्टी सदस्यहरूलाई स्कूल विभागको माध्यमबाट प्रशिक्षणको व्यवस्था मिलाउने इन्चार्ज अर्यालले जानकारी गराउनु भयो ।
जिल्ला कमिटीको संयोजनमा लुम्बिनी प्रदेश कमिटीले सञ्चालन गर्ने यो परीक्षाको केन्द्र वडा कमिटीका कार्यालयहरूलाई तोकिएको छ ।
एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले सबै वडा तहमा यसको तयारी भएको र त्यसले पार्टीलाई नै ऊर्जा थप्ने विश्वास लिएको बताउनु भयो । प्रचार विभाग प्रमुख डिआर घिमिरेका अनुसार अहिले १२ मध्ये १ जिल्लामा मात्रै अधिवेशन सकिएको र वडागत परीक्षा सकिएपछि सबै जिल्लामा अधिवेशनको तयारी हुने छ ।