भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाका बिभिन्न स्थानमा भएका लुटपाटमा संलग्न ब्यक्तिहरुलाई लुटपाटका सामान सहित पक्राउ गरेको छ ।
मोटरसाईकलमा आएका ब्यक्तिहरुले सर्वसाधारणको हातबाट मोवाइल लुटेर भाग्ने गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र कार्यालय मातहतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले लुटपाट कार्यमा संलग्न ब्यक्तिहरुलाई सामाग्री सहित पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिहरुलाई चोरी तथा डाँका कसूर शिर्षकमा मुद्धा दर्ता गरी रुपन्देही जिल्ला अदालतमा पेश गरेकोमा अदालतबाट ७ दिनको म्याद थप भई अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले सिद्धार्थनगर नगरपालिका बडा नं. ७ बस्ने बर्ष २५ को मनिष हरिजन, वडा नं. ३ बस्ने बर्ष २४ को देवान गुरुङ् र वडा नं. १३ बस्ने बर्ष २४ को रोमन घर्तीलाई पक्राउ गरेको हो । यस्तै प्रहरीले सियारी गाउँपालिका वडा नं. ३ बस्ने बर्ष ३१ को मोहम्मद रसिद मुसलमानलाई पनि पक्राउ गरेको छ ।
पक्राउ परेका ब्यक्तिहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीका ८ थान मोवाईल र लु ५६ प ७१७ नं. को मोटरसाइकल बरामद गरेको छ ।
यस्तो कार्यमा संलग्न ब्यक्तिहरुलाई मुलुकी अपराध संहिता २०७४ अनुसार कसूरको अवस्था हेरी २ बर्ष देखि ७ बर्ष सम्म कैद र २० हजार देखि ७० हजार सम्म जरिवाना हुने व्यवस्था रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका ब्यक्रिहरुले बिभिन्न स्थानमा मोवाइल बोकी उभिएका मानिसहरु नजिकै मोटरसाइकलमा एक्कासी पुग्ने र अति जरुरी समस्या परेकोले १ कल फोन गर्न भनी मोवाईल मागेर भाग्ने, एक्लै बसेका सर्वसाधारणको हातमा बोकेका मोवाईल जवरजस्ती खोसेर भाग्ने, लुटेको मोवाइल मोवाइल पसलहरुमा बिक्री गर्ने र मोवाइल बिक्री बापतको रकमले बिभिन्न किसिमका लागु औषध खरिद गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।