बुटवल । बुटवलमा सञ्चालन गरिएको राष्ट्रिय प्राङ्गारिक कृषि मेला सकिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजनामा यहि फागुनको १० गतेदेखि बुटवल मण्डपमा सञ्चालन गरिएको राष्ट्रिय प्राङ्गारिक कृषि मेला–२०८० सोमबार सकिएको हो ।
प्राङ्गारिक खेती प्रणालीलाई जोड दिएर कृषिको प्रवद्र्धन र कृषिमा व्यवसायिक विकासको लागि सञ्चालन गरिएको कृषि मेलामा १५ हजार उपभोक्ताले अवलोकन गरेको र मेलाभित्र १५ लाखको कारोवार भएको संघका अध्यक्ष एवं मेला सम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले जानकारी गराउनु भयो ।
मेलाको समापन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले कृषिको व्यवसायिक विकास गर्न प्रवद्र्धनात्मक मेला आयोजना गरेर बुटवल उद्योग वाणिज्य संघले किसान र उपभोक्तालाई जोड्ने मात्रै नभएर उद्यमशिलता विकास र रोजगारी सिर्जनामा पनि योगदान हुने का गरेको भनाई राख्नुभयो । उहाँले कृषिभूमिलाई प्लटिङ् गर्ने र कृषिमा लाग्नुपर्ने जनशक्ति जग्गाको खरिद विक्रिमा लाग्दा कृषि क्षेत्रको उदोगति भएको बताउँदै यसलाई उठाउन सबै लाग्नुपर्ने भनाई राख्नुभयो ।
कृषिको विकासको लागि नगरपालिकाले आफ्नो ठाउँबाट काम गरिरहेको बताउँदै ग्रामिण क्षेत्र र छिमेकी जिल्लाका उत्पादनलाई बुटवलमा विक्रि वितरणको व्यवस्था मिलाईएको पनि उहाँले जानकारी गराउनु भयो ।
त्यस्तैगरी तिनाउ गाउँपालिकाका पाल्पाका अध्यक्ष प्रेम श्रेष्ठले गाउँका किसानले आफ्नो उत्पादन विचौलीयाको मुल्यमा विक्रि गर्न बाध्य भएको बताउनु भयो । उहाँले गाउँ विस्तारै बृद्धाश्रम हुने हो की भन्ने चिन्ता रहेको बताउँदै त्यसलाई रोक्नको लागि उद्यमशिलता विकास र रोजगारीको सिर्जना अपरिहार्य रहेको बताउँदै तयसमा प्रदेश र संघीय सरकारले सहयोग गर्नुपर्ने भनाई राख्नुभयो । उहाँले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नको लागि आयोजना गरिएको यो कृषि मेलाले किसानलाई मात्रै नभएर उपभोक्तालाई पनि लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले ग्रामिण किसानलाई
२०४१ सालमा उपत्यका बाहिर पहिलो पटक बुटवलमा औद्योगिक प्रदर्शनी गरेको बुटवल उद्योग वाणिज्य संघले २०६२ सालदेखि नियमित रुपमा विशिष्टिकृत कृषि मेला गर्दै आएको छ । यो मेला १२ औं संस्करणको कृषि मेला हो ।
८८ वटा स्टल रहेको मेलामा उपभोक्तालाई प्राङ्गारिक कृषि, पशुपन्ंछी तथा मत्स्यजन्य पदार्थको बारेमा सचेतना प्रदान गरिएको छ । प्राङ्गारिक कृषि प्रणाली तथा असल कृषि अभ्यास पद्धतीको प्रवद्र्धन, कृषिको उत्पादन लागत घटाउन आधुनिक कृषि प्रविधि, कृषि औजार र मेशिनरी सम्बन्धी उपभोक्तालाई जानकारी गराईएको छ ।
मेलामा जिवनाशक विषादि प्रयोग, प्रभाव र विकल्प, प्राङ्गारिक खेतीको लागि हालसम्मको प्रयास र उपलब्धी, मत्स्यपालन व्यवसाय, अवसर सम्भावना र चुनौती तथा कृषि बस्तुको बजारीकरण सम्बन्धि अन्तरक्रिया तथा छलफल गरिएको छ । त्यसले किसान र सम्बन्धित क्षेत्रका लागि सचेतना प्रदान गरेको विश्वास गरिएको छ । त्यस्तै कृषिसंग सम्बन्धित विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, दुग्धपान प्रतियोगिता र कृषिसंग सम्बन्धित सांस्कृतिक सांगितक कार्यक्रम समेत प्रस्तुत गरिएको संघका कार्यसमिति सदस्य तथा मेला प्रचारप्रसार समितिका संयोजक दीपकप्रसाद चापागाईले जानकारी गराउनु भयो ।
मेलाको समापन कार्यक्रममा कृषि बैज्ञानिक प्रा। डा। द्रोणप्रकाश रसायली, प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम रुपन्देहीका प्रमुख नारायण काफ्ले, संघका पूर्वअध्यक्ष नवराज श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रका बोर्ड सदस्य झलकलाल श्रेष्ठ, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्का, रुपन्देही व्यापार संघका उपाध्यक्ष दया भण्डारी, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, महासचिव मुक्तिप्रसाद अधिकारी लगायतले भनाई राख्नुभएको थियो ।
मेलामा प्रेमनिस अल्लो उद्योग उत्कृष्ट
मेलामा दाङको प्रेमनिस अल्लो धागो तथा तयारी पोशाक उद्योग उत्कृष्ट भएको छ । मेलामा रहेका ८८ वटा स्टलमध्ये कृषिजन्य कच्चा बस्तुको प्रयोगबाट राम्रो सञ्चालन गरेको प्रेमनिस अल्लो धागो तथा तयारी पोशाक उद्योगलाई प्रथम पुरस्कार प्रदान गरिएको छ ।
त्यस्तै चितवनको गोर्खाली कृषि औजार पसल द्वितीय र मेघवर्षा कृषि सहकारी संस्था तृतीय भएको छ । मेलामा २ वटा स्टललाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ । गुप्ता नर्सरी तिलोत्तमा र सुधा हर्वल रुपन्देहीलाई सान्त्वना पुरस्कार प्रदान गरिएको हो । संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूको संयोजकत्वमा गठित विज्ञ सहितको मुल्यांकन समितिले गरेको मुल्यांकनका आधारमा उनीहरुलाई पुरस्कृत गरिएको हो ।