बुटवल । रूपन्देहीको बुटवल–८ सुख्खानगर स्थित दीप बोर्डिङ हाई स्कुलमा नवनिर्मित दीप बाल उद्यानको सरस्वती पूजनका दिन बुधबार उद्घाटन गरिएको छ । खास गरी बालकक्षा र नर्सरीका विद्यार्थीलाई खेलकुदसँगै रमाइलो वातावरणमा शिक्षण सिकाइ क्रियाकलापलाई सघाउ पु¥याउने उद्देश्यले निर्माण गरिएको उक्त उद्यानको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजूले उद्घाटन गर्नुभयो ।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष उमाकान्त चापागाई, प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्यहरू ज्ञानुथापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य सहित अभिभावकहरूको सहभागिता रहेको थियो । यसैबिच विद्यालयमा वसन्त पञ्चमी तथा श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा अर्चनाका साथै विद्यालयमा भर्ना गराउन ल्याइएका ससाना नानीबाबुहरूको अक्षरारम्भ गरी हर्षोल्लासका साथ मनाइएको छ । तिलोत्तमा–१, नयाँमिल स्थित दुर्गा वैदिक संस्कृत विद्यापीठमा अध्ययनरत संस्कृत विषयका पाँचजना वटुकद्वारा वैदिक मन्त्रोच्चारण र स्वस्तिशान्ति गरी शास्त्रीय विधिसहित पूजाआरम्भ गरिएको थियो । पूजामा विद्यालयका तर्फबाट उपप्राचार्य कलाधर अर्यालले प्रतिनिधित्व गर्नुभएको थियो भने पूजाको नेतृत्व विद्यालयका शिक्षक एवम् नेपाली विषय समिति प्रमुख बालकृष्ण पाठकले गर्नुभएको थियो । सरस्वती पूजाका निम्ति विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, विद्यालयका प्राचार्यसहित शिक्षक शिक्षिका, विभिन्न फाँट र तहगत संयोजकहरू, कर्मचारी, विद्यार्थी र अभिभावक वर्गको उल्लेख्य सहभागिता रहेको थियो ।