बुटवल । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलले एघारौँ संस्करणको दीप गायन तारा प्रतियोगिता गर्ने भएको छ ।
विद्यालयले शनिबार सम्मेलन गरी आउँदो फागुन ४ र ५ गते रुपन्देही क्षेत्रभित्रका माध्यमिक विद्यालयका कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरू सहभागी हुनपाउने गरी प्रतियोगिता आयोजना गरेको जनाएको छ ।
कार्यक्रममा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले प्रतियोगितामा सहभागिताका लागि १६६ वटा विद्यालयमा पत्राचार गरिएको र सामाजिक सञ्जाल तथा पत्रपत्रिका, रेडियो एवम् अनलाइन पत्रिका मार्फत् रुपन्देहीका विद्यालयहरूलाई सूचना सम्प्रेषण गरिएको बताउनुभयो । प्रतियोगितामा ५५ भन्दा बढी विद्यालयका विद्यार्थीहरूको सहभागिता रहने अपेक्षा गरिएको र कार्यक्रममा ६ लाख बढि खर्च लाग्ने प्राचार्य न्यौपानेले बताउनुभयो ।
दीप गायन तारा प्रतियोगिता एघारौँ संस्करणका संयोजक बालकृष्ण पाठकले दीप गायन तारा प्रतियोगिताका गतिविधिलाई छापा, मिडिया तथा अनलाइन पत्रिकामार्फत् समाचार प्रकाशन तथा प्रसारण गरेर सहयोग गर्न आग्रह गर्नुभयो ।
प्रतियागितामा प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले २० हजार, तृतीय हुनेले १० हजार र सान्त्वना हुने २ जनाले दुई÷दुई हजार नगदका साथै शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
पुरुषोत्तम पाण्डेयले सञ्चालन गर्नु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, विद्यालय व्यवस्थापन समिति सदस्य वसन्तकुमार जोशी, कार्यक्रम सहसंयोजक श्याम बस्याल, प्रचारप्रसार उपसमिति संयोजक दिपकचन्द्र भुसाल, कार्यक्रम मूल आयोजक समितिका सदस्यहरू कृष्ण भुसाल, विजया थापा, विजय सापकोटा, रेखा आचार्य, विन्देश्वर शाहलगायतले सहजीकरण गर्नुभएको थियो ।
दीप गायन तारा प्रतियोगितामा हालसम्म अस्मिता चापागाई, प्रिया भण्डारी, अक्सर अली, जुना गुरुङ, नविन परियार, दीप्सन श्रेष्ठ, वर्षा परियार, सक्सेस पाण्डे, कुशल आचार्य र विवेक पङ्गेनी गरी १० जना प्रतियोगी विद्यार्थी दीप गायन तारा बनेका छन्् भने प्रतियोगिताका कतिपय विजेताहरूले हाल राष्ट्रिय कलाकारिताको क्षेत्रमा ख्याति कमाएका छन् ।