बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारको ध्यान सत्ता टिकाउनमा मात्रै केन्द्रित भएको बताउनुभएको छ । जनताका समस्या समाधानप्रति सरकारले कुनै चासो र ध्यान नदिएको बताउँदै पौडेलले सरकार सत्ता र शक्ति बचाउनमा मात्र लागिपरेको टिप्पणी गर्नुभयो ।
शनिबार बुटवलमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रुपन्देहीको २१ औँ साधारण सभा तथा १० औँ अधिवेसनको उद्घाटन गर्दै नेता पौडेलले देशका तमाम समस्या समाधान गर्न वर्तमान सरकारले नसक्ने दावी गर्नुभयो । उहांले भन्नुभयो–‘वर्तमान सरकार, जनताका मुद्दा, चासो, समस्याका विषयमा जानाकार छैन जनताका समस्या समाधान गर्न एमाले नेतृत्वको आवश्यक छ ।’ पौडेलले बढ्दो विज्ञान र प्रविधिको भरपुर उपयोग गर्दै त्यहीअनुसार नयाँ युवा पुस्ताले अनुसरण गर्दै अघि बढनुपर्नेमा जोड दिनुभयो ।
सोही अवसरमा नेता पौडेलले महासंघ द्वारा नवनिर्मित राजेन्द्र स्मृति पुस्तकालय भवनको उद्घाटन समेत गर्नुभएको थियो । समाजमा पठन संस्कृतिको विकास र विस्तार गर्न जरुरी रहेको बताउदै नेता पौडेलले पुस्तकालय व्यवस्थित रुपमा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला अध्यक्ष रामकृष्ण चापागाईंले महासंघले आफ्नो नेतृत्वमा सम्पन्न गरेका विभिन्न कार्यक्रमहरुबारे चर्चा गर्दै कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गर्नुभयो । पुस्तकालय व्यवस्थित रुपमा सञ्चालन गर्न आफु नेतृत्वमा नरहे पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
महासंघका केन्द्रीय महासचिव शिवसागर सुवेदीले महासंघको अगुवाइमा समयमै देशका सबै जिल्लाका विद्यार्र्थीहरुले पाठ्यपुस्तक पाएको बताउनुभयो । राष्ट्रिय पुस्तक नीति नहुँदा महासंघ अभिभावक विहिन जस्तै भएको बताउंदै उहांले यसलाई तत्काल जारी गर्न आग्रह गर्नुभयो । पठन संस्कृतिको विकासका लागि बिभिन्न समयमा पुस्तक प्रदर्शनी लगायतका कार्यक्रम गर्दै आइरहेको बताउँदै महासंघको अभियानमा जोडिन आग्रह गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, महासंघका पूर्व केन्द्रीय अध्यक्ष तथा वागमती प्रदेशसभा सदस्य रघुनाथ महर्जन, पूर्व केन्द्रीय अध्यक्ष तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, पूर्व केन्द्रीय अध्यक्ष नवनिधि पन्थ, केन्द्रीय उपाध्यक्ष दिवाकर घिमिरे, संघका रुपन्देही सल्लाहकार तथा पूर्व केन्द्रीय अध्यक्ष मनहरि बस्याल, पूर्व रुपन्देही जिल्ला तथा महासंघका केन्द्रीय उपमहासचिव यमलाल लोहनी, लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्टार डा. तिलक आचार्य, प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलका अध्यक्ष दिनेश फुल्लेल, बुटवल उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष नरिश्वर शर्मा पौडेल, महासंघ पाल्पा जिल्ला अध्यक्ष किशोर भट्टराई, एन प्याब्सन रुपन्देहीका उपाध्यक्ष बाबुराम बञ्जाडे, हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुसाल, अभिभावक संघ लुम्बिनी प्रदेशका अध्यक्ष हेम थापा, अभिभावक संघ रुपन्देही जिल्ला अध्यक्ष लोकनाथ ज्ञवालीलगायतले आआफ्नो भनाई राख्दै पठन संस्कृतिको विकासका लागि अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
नयाँनयाँप्रविधि र टेक्नोलोजीको विकास भइरहेको अवस्थामा पुस्तकालयलाई प्रविधिमैत्रीबनाउँदै रिसर्च सेन्टरको रुपमाविकास गर्नुपर्ने उनिहरुको भनाई थियो ।
कार्यक्रममा महासंघले प्रकाशन गरेको स्मारिका विमोचन गरिएको थियो भने पूर्व केन्द्रीय अध्यक्ष तथा पूर्व रुपन्देही जिल्ला अध्यक्षहरुलाई सम्मान गरिएको थियो । साथै उत्कृष्ट व्यवसायीलाई सम्मान र जिल्लास्तरीय सिर्जनसिल हाजिरीजवाफ प्रतियोगितामा प्रथम, द्वित्तीय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । वरिष्ठ उपाध्य क्षगोपाल बस्यालको धन्यवाद मन्तव्य तथा जिल्ला सचिव कृष्णबहादुर कार्कीको सञ्चालनमा कार्यक्रम भएको थियो ।